पर्वत, असोज १ । पर्वतको मोदी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटै सूचक पूरा गरेपछि बिहीबार मोदी गाउँपालिका–६ स्थित नवजागृत माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औपचारिक रूपमा घोषणा गर्नुभएको हो।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपालमा पछिल्लो समय देखिएको राजनीतिक तथा सामाजिक अवस्थाका लागि आफूले कुनै पनि राजनीतिक दललाई दोष नदिने बताउनुभयो। राजनीतिक अस्थिरताका कारण जनता राजनीतिक दलहरूप्रति रुष्ट बनेको उल्लेख गर्दै उहाँले जनताको असन्तुष्टिलाई गम्भीर रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो। आफू सरकारमा रहे पनि नरहे पनि गण्डकी प्रदेशको विकास, समृद्धि र जनताको हितका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालमैत्री घोषणा गर्नु मात्र उपलब्धि नभई त्यसलाई व्यवहारमा निरन्तरता दिनु महत्वपूर्ण रहेको बताउनुभयो। बालबालिकाको वास्तविक अवस्था परिवर्तन भए–नभएको मूल्याङ्कन गर्न घरघर, विद्यालय र समुदायमा पुगेर नियमित अनुगमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले गाउँपालिकालाई बधाई तथा शुभकामना दिनुभएको थियो।
मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त घोषणा गर्न सबै वडाको साथ र सहयोग प्राप्त भएको बताउनुभयो। उहाँले बालबालिकाको अधिकार संरक्षण, शिक्षा, स्वास्थ्य, सहभागिता तथा बालश्रम अन्त्यका क्षेत्रमा गरिएका प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
घोषणा कार्यक्रममा मोदी गाउँपालिकाभित्रका १५ भन्दा बढी विद्यालयका विद्यार्थीहरूले निर्माण गरेका विभिन्न सामग्री तथा कृषि प्रदर्शनी राखिएको थियो। प्रदर्शनीमार्फत विद्यार्थीहरूको सिर्जनशीलता, व्यावहारिक सीप तथा सिकाइ प्रस्तुत गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले बालमैत्री घोषणालाई प्रभावकारी कार्यान्वयन र निरन्तर अनुगमनमार्फत संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए।

