विपद्को जोखिममा पर्वतका तीन पालिकामा विद्यालय बन्द

 

असोज ८ पर्वत

वर्षाको जोखिमलाई मध्यनजर गर्दै पर्वतका तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै पर्वतका सात स्थानीय तहमध्ये एक नगरपालिका र दुई गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेका छन् ।
कुश्मा नगरपालिका, महाशिला गाउँपालिका र मोदी गाउँपालिकाले जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी पूर्वानुमान तथा बुलेटिनका आधारमा विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

विभागको पूर्वानुमानअनुसार असोज ८ गतेदेखि ११ गतेसम्म पर्वत लगायत देशका विभिन्न स्थानमा वर्षाको उच्च सम्भावना रहेकाले सम्भावित विपद्बाट विद्यार्र्थीलाई सुरक्षित राख्न विद्यालयमा बिदा दिने निर्णय गरिएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको असोज ७ गतेको सूचना तथा स्थानीय तहको निर्णयअनुसार असोज ८ र ९ गते दुई दिन स्थानीय तथा सार्वजनिक बिदाबाट समायोजन हुने गरी विद्यालय बन्द गरिएको हो ।

कुश्मा नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय, महाशिला गाउँपालिकाले गाउँपालिका भित्रका सबै विद्यालय तथा मोदी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई दुई दिन बिदा दिएको जनाएका छन् ।

स्थानीय तहहरूले सम्भावित जोखिमबाट बच्न विद्यार्र्थी तथा अभिभावकलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् । विशेषगरी लगातारको वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले विद्यालय आवतजावतका क्रममा सावधानी अपनाउन आग्रह गरिएको सचेत न्यजलाई जानाकारी दिएको छ ।

पर्वतमा रहेका सात स्थानीय तहमध्ये कुश्मा नगरपालिका, महाशिला गाउँपालिका र मोदी गाउँपालिकाले विद्यालय बिदाको सूचना जारी गरेका हुन् । बाँकी स्थानीयतहका विद्यालय सञ्चालनसम्बन्धी निर्णय भने सम्बन्धित स्थानीय तहको सूचनाअनुसार हुने देखिन्छ ।

सम्बन्धित समाचार

ताजा न्यूज