देशभर बदली, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, १६\जेठ  

जल तथा मौसम विज्ञान विभागले आज देशभर साधारणतया बदली रहने जनाएको छ। विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।

विभागका अनुसार मधेश, बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको जनाइएको छ।

जल तथा मौसम विज्ञान विभागले वर्षा, चट्याङ्ग र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि तथा यातायात क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज