दशैँअघि नै मालढुङ्गा पुल सञ्चालनमा ल्याउने तयारी

 

२२पर्वत ।

पर्वतको कुश्मा नगरपालिका–१ र बागलुङलाई जोड्ने मालढुङ्गा मोटरेबल पुलको मर्मत कार्य तीव्र गतिमा अघि बढाइएको छ । असोज १० गते राति आएको बाढीका कारण पुलको पर्वत तर्फको एप्रोज सडक भत्किएपछि ठप्प भएको यातायात सेवा दशैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत कार्य भइरहेको हो ।
सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीका अनुसार बाढीले भत्काएको पुलको बायाँतर्फ अर्थात् पर्वततर्फको एप्रोज निर्माणको काम दिनरात दुई सिफ्टमा सञ्चालन भइरहेको छ । यात्रुको चाप र ठूला चाडपर्व नजिकिँदै गएको अवस्थालाई ध्यानमा राखेर निर्माण कार्यलाई तीव्रता दिइएको अधिकारीले बताउनुभयो ।
मर्मत तथा निर्माण कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसमेत परिचालन भएका छन्, सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय पोखरा, पुल सेक्टर पोखरा, हेभी इक्विपमेन्ट डिभिजन पोखरा, सडक डिभिजन कार्यालय बागलुङ तथा कालीगण्डकी करिडोर मालढुङ्गा–कोरला योजनाले समेत आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरेर काम गरिरहेका छन् ।
पुलको करिब २४ मिटर उचाइमध्ये क्षतिग्रस्त भागमा पहिलो चरणमा ८ मिटर क्षेत्रमा तारजाली सहितको ग्याबिन राखेर फाउन्डेसन निर्माण गरिएको छ । त्यसको माथिल्लो भागमा करिब ४ मिटर जियो ब्याग राखेर एप्रोजलाई थप मजबुत बनाउने गरी मर्मत कार्य अघि बढाइएको जनाइएको छ ।
मालढुङ्गा पुलको एप्रोज भत्किएपछि बागलुङ हुँदै रुकुम, रोल्पालगायत पश्चिम नेपालका विभिन्न जिल्लाबाट पर्वत हुँदै अन्य क्षेत्रमा आवतजावत गर्ने यात्रु तथा स्थानीयले ठूलो सास्ती खेप्दै आएका छन् , विशेषगरी दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै जाँदा यातायात सहज नहुँदा यात्रुलाई थप समस्या भएको छ ।
मालढुङ्गा पुल अवरुद्ध भएपछि वैकल्पिक पैदल मार्गका रूपमा बागलुङ नगरपालिका–१ र जलजला गाउँपालिका–८ जोड्ने खनियाघाटस्थित झोलुङ्गे पुल प्रयोग हुँदै आएको थियो । पर्वततर्फबाट माइक्रोबसमा यात्रा गर्ने यात्रुले उक्त पुलमार्फत आवतजावत गर्दै आएका थिए । तर, झोलुङ्गे पुलमा मोटरसाइकलसमेत वारपार गर्न थालेपछि पुलमा क्षति पुग्ने जोखिम बढेकाले हाल मोटरसाइकल आवतजावतमा रोक लगाएर मर्मत कार्य अघि बढाइएको छ ।
दशैँको समयमा घर फर्किने तथा विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले मालढुङ्गा पुलको मर्मत कार्य समयमै सम्पन्न गर्न स्थानीयले माग गर्दै आएका छन् । निर्माण कार्य तीव्र गतिमा भइरहेकाले दशैँअघि नै पुल सञ्चालनमा आउने आशामा स्थानीय तथा यात्रु रहेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज