पर्वत, असार १९। जिल्ला प्रहरी कार्यालय, पर्वतले विशेष स्विप अपरेशनका क्रममा एकै दिन ११ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।
जिल्लाभित्र हुन सक्ने वन्यजन्तु तथा पशुपक्षीको अवैध शिकार नियन्त्रण गर्नुका साथै समग्र शान्ति–सुरक्षा र अमनचयन कायम राख्ने उद्देश्यले सञ्चालन गरिएको हातहतियार सम्बन्धी विशेष स्विप अपरेशनका क्रममा शुक्रबार कुश्मा नगरपालिका–७ गजौटेस्थित चिसापानी सामुदायिक वनबाट ७ थान तथा जलजला गाउँपालिका–४ स्थित फेदी सौरेनी सामुदायिक वनबाट ४ थान गरी जम्मा ११ थान बेवारिसे अवैध एकनाले भरुवा बन्दुक बरामद गरिएको हो।
प्रहरीका अनुसार ती बन्दुकहरू वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेका हुन्। बरामद गरिएका सबै बन्दुकहरू कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालय, पर्वतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार यस अभियानअन्तर्गत हालसम्म जिल्लाका विभिन्न स्थानबाट कुल १९ थान बेवारिसे अवैध एकनाले भरुवा बन्दुक बरामद गरिएको छ।
प्रहरीले अवैध हातहतियार नियन्त्रण तथा शान्ति–सुरक्षा सुदृढ बनाउन यस्ता विशेष अभियानलाई निरन्तरता दिने जनाएको छ।
