मोदी गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त घोषणा हुँदै 

पर्वत । पर्वतको मोदी गाउँपालिकाले बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त गाउँपालिका घोषणा गर्ने तयारी गरेको छ। बालबालिकाको अधिकार, संरक्षण, विकास, सहभागिता तथा संस्थागत व्यवस्थापनलाई केन्द्रमा राखेर गरिएको मूल्यांकनमा गाउँपालिकाले ५१ वटा सूचकमा ९८ प्रतिशत सफलता हासिल गरेको जानकारी दिइएको छ। बालमैत्री स्थानीय शासनका लागि तोकिएको न्यूनतम सफलता मापदण्ड ८० प्रतिशत रहेकोमा मोदी गाउँपालिकाले त्यसलाई उल्लेख्य रूपमा पार गरेको हो।

गाउँपालिकाले बालमैत्री स्थानीय शासनका पाँचवटा प्रमुख क्षेत्रअन्तर्गत सूचकहरूको मूल्यांकन गरेको जनाएको छ। जसअनुसार बाल बचाउ (Survival) तर्फ १४, बाल संरक्षण (Protection) तर्फ १०, बाल विकास (Development) तर्फ ६, बाल सहभागिता (Participation) तर्फ ६ र संस्थागत विकास (Institutional) तर्फ १५ सूचक रहेका छन्। यी सूचकमा गाउँपालिकाले गरेको प्रगतिको जिल्ला समन्वय समितिबाट स्थलगत अनुगमन तथा प्रमाणीकरणसमेत गरिएको जनाइएको छ।

बालबालिकाको जन्मदर्ता, स्वास्थ्य, शिक्षा, संरक्षण, सहभागिता, बालश्रम न्यूनीकरण तथा बालमैत्री संरचना निर्माणलगायतका क्षेत्रमा गाउँपालिकाले गरेको कामलाई मूल्यांकनको आधार बनाइएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरी र गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त गाउँपालिका घोषणाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो। अध्यक्ष शर्माले बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूको समग्र विकासका लागि स्थानीय सरकारको नीति, योजना र बजेटलाई थप बालमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज