विपद् प्रभावित बालबालिकालाई पर्वतका बालबालिकाको सन्देश : ‘हामी सँगै छौँ’

पर्वत, २६ भदौ । पर्वतका बालबालिकाले कविता मार्फत् विपद् प्रभावित बालबालिकालाई हौसला, सकारात्मक सन्देश र सुन्दर भविष्यको शुभकामना दिएका छन्। राष्ट्रिय बाल दिवसको अवसरमा गण्डकी प्रदेश सरकारअन्तर्गतको एकीकृत सेवा कार्यालय पर्वतले आयोजना गरेको जिल्ला स्तरीय कविता वाचन प्रतियोगितामा सहभागी विद्यार्थीले हालै रसुवामा आएको बाढीबाट प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य र बालअधिकार संरक्षणका लागि सबैले सहयोग गर्नुपर्ने सन्देश दिएका हुन्।

प्रतियोगितामा नारायण माध्यमिक विद्यालयकी छात्रा रितु फकामी पुन प्रथम भएकी छन्। काफलचौर माध्यमिक विद्यालयका खुसीमान गिरी द्वितीय, शिवालय माध्यमिक विद्यालयकी गायत्री पौडेल तृतीय र कालिगण्डकी एकेडेमीकी प्रस्तुती पौडेल सान्त्वना भएकी छन्।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका प्रमुख विदुर शर्मा आचार्यले विपद्बाट प्रभावित बालबालिकाको मनोबल बढाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। एकीकृत सेवा कार्यालय पर्वतका प्रमुखले कार्यक्रमले बालबालिकाको सिर्जनात्मकता, आत्मविश्वास र अभिव्यक्ति क्षमताको विकाससँगै विपद् प्रभावित बालबालिकाप्रति सहानुभूति, सहयोग र अपनत्वको भावना बढाउने विश्वास व्यक्त गर्नुभयो।

जिल्ला बालअधिकार समितिका अध्यक्ष “नविन जि.सी.”ले पर्वतलाई बालमैत्री जिल्ला बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः ५ हजार, ३ हजार ५ सय, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो। जिल्ला बालअधिकार समिति र जिल्ला बाल सञ्जाल पर्वतको समन्वयमा भएको कार्यक्रम बाल सञ्जाल पर्वतकी अध्यक्ष निर्जला खनालको अध्यक्षतामा सम्पन्न भएको थियो।   

सम्बन्धित समाचार

ताजा न्यूज