भदौ ३१,पर्वत—
पर्वतका प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ चिकित्सकीय सेवा विस्तारसँगै सल्यक्रिया सेवा पनि प्रभावकारी बन्दै गएको छ । लामो समयपछि फलेवास नगरपालिका निवासी ७३ वर्र्षीय यामबहादुर भुसालको हर्नियाको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
एनेस्थेसियोलोजिस्ट डा. बालकृष्ण श्रेष्ठ, एमडीजीपी तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा.राजेश केसी र सहायक चिकित्सक डा.सुजन विकलगायतको चिकित्सकीय टोलीले भुसालको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
अस्पतालमा हाल हर्निया, एपेन्डिसाइटिस, हाइड्रोसिल, लाइपोमा र खतना लगायतका शल्यक्रिया सेवा उपलब्ध छन् । आवश्यकताअनुसार अन्य साना तथा ठूला शल्यक्रिया सेवा पनि प्रदान गरिँदै आएको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष याम परियार ‘शिव’का अनुसार विशेषज्ञ चिकित्सकीय टोलीमार्फत विभिन्न शल्यक्रिया तथा विशेषज्ञ स्वास्थ्य सेवा निरन्तर विस्तार भइरहेको छ । सेवा विस्तारसँगै जिल्लामै गुणस्तरीय उपचार पाउने अवसर बढेको उहाँले बताउनुभयो ।
