पर्वत
मान्छे बिदेश भने पछि जति रकम पनि खर्च गर्ने सामथ्र्य राख्छन् । पछिल्लो केहि बर्ष यता सानै उमेरमा पढ्नको लागि बिदेशीने युवाहरुको लर्को नै देख्न सकिन्छ । पढ्ने बाहाना होस या घुम्नको लागिहोस् केहि न केही बाहानामा नेपाली युवा जनशक्तिहरु बिदेशीने क्रम बढिरहेको छ । तर पर्वतका एक युवा बिदेशी भिसा त्यागेर नेपालमा नै केहि गर्छु भन्ने मनसायका साथ प्रदेशको माया मारेर स्वदेशमा नै दुध संकलन तथा बितरण केन्द्र गाउँमा नै खोलेर रमाउन थालेका छन् ।
दक्षिण कोरीयामा ६ बर्ष बसेर छुट्टिमा नेपाल आएका पर्वतको कुश्मा नगरपालिका वाड नं. ९ कटुवा चौपारीका राम शर्मा लामिछानेले अहिले गाउँमा बसेर नै मनग्य आम्दानी गर्न सफल भएका छन् । छुट्टि सकिए पनि कोरियाको बसाई लाइ विटमारेका शर्माले अहिले पाठेश्वरी कृषि सहकारी संस्था लिमिटेड द्धारा दुध संकलन तथा वितरण केन्द्र खोलेर मनग्य आम्दानी गर्न सफल भएका हुन् । उनले महिनामा नै करिव १३ लाख रुपैँया बरावरको कारोवार हुने बताउछन् । अहिले कृषक दाजुभाई दिदीबहिनीको सहजताको लागि यो संकलन केन्द्र खोलेको छु । शर्मा भन्छन्- “काम शुरु गरेको ६ महिना हुन लाग्यो गाउँका सवैले दुध ल्याउनुहुन्छ , दुध अनुसारको पैसा पनि दिएको छु सवै खुसि नै हुनुहुन्छ ।”
सो संकलन केन्द्रमा ७० जना कृषकहरुले दुध ल्याउने गरेको शर्माको भनाई छ । विदेशमा बगाउने पसिना भन्दा आफ्नै देशमा घरपरिवार सगँ रमाउदै जुन सुकै पनि पेशा ब्यवसाय गर्ने हो भने त्यसमा नै सवैथोक पाइने शर्माको अनुभव छ । लाखौँ युवाहरु बिदेश जान लालाहित भएको देख्दा दुःख लाग्छ किनकी आफु धेरै बर्ष बिदेश बसे त्यहा न आफ्नो मान्छे हुन्छ न त आफ्नो पन । बिरामी हुदाँ पनि काम बाहेक अरु केहि सोच्न नसकीने हुदाँ बिदेशमा अधिक दुख रहेको छ । मत भन्छु बिदेशको तातो हावा भन्दा आफ्नो देशको माटो नै प्यारो ,त्यसैले बिदेश जाने सोच बनाउदै नबनाउनुस् यदी त्यस्तो सोच बनाउनुभएको छ भने तपाई गलत सोचको बिकास गर्दै हुनुहुन्छ । शर्मा भन्छन्- “युवाहरुलाई स्वदेशमा नै लगानी गर्न सल्लाह दिन्छु , आफु बर्षौ बिदेश बसेर आउदा केहि पैसा त कमाएको हुँला तर पैसा भन्दा धेरै महङ्गा बस्तु गुमाएको अनुभव छ मसँग त्यसैले बिदेश नजानुस आफ्नै देशमा केहि गर्ने विचार र सोही अनुसारको परिश्रम गर्नुस पक्कै पनि तपाईहरुले सफलता प्राप्त गर्नुहुन्छ ।”
सहकारी मार्फत संचालन भएको हुनाले दुध संकलन र बितरण गरे बापत सहकारीलाई मासिक रुपमा १५ हजार रुपैँया बुझाउने गरेको संचालक शर्माले बताउछन् । सबै खर्च कटाएर करिब एक लाखको हाराहारीमा बचाउने गरेको संचालक शर्माको भनाई छ । उनले दिनहुँ ५०० लिटर दुध संकलन साथै बिक्रि बितरण गर्दै आएका छन् । संकलन गरेको दुध शर्माले नजिकैको कुश्मा बजारमा ल्याएर बिक्रि बितरण गर्ने गरेको बताउछन् । यदि कुनै बेला दुध बिक्रि नभएर रहेको खण्डमा त्यो दुधबाट पनिर, छुर्पी र कुराउनी बनाउने गरेको शर्माले जानाकारी गराए । बिहान सबेरै कृषकले उनको संकलन केन्द्रमा दुध लिएर जान्छन्, कृषक बाट दुध खरिद गरेर नजिकैको सदरमुकाम तर्फ भाडाँ भरी दुधका पोका राखेर स्कुटरमा हुहिँकिन्छन् शर्मा । उनी आजकल यसैमा रमाएका छन् । यसबाट नै शर्माको ५ जनाको परिवार पालिएको छ । गाउँलेहरुले पनि शर्माले सुरु गरेको ब्यवसायले सजिलो भएको बताएका छन् । कृषक केशब लामिछाने भन्छन् -“पहिला आफै बजार सम्म दुध लिएर जानु पर्ने अवस्था थियो, पुरै बिहान दुध बजारमा लगेर फर्किदा सकिन्थ्यो अहिले नजिकै संकलन केन्द्र खुलेको हुनाले समयको पनि बचत भएको छ ।” उनी जस्तै गाउँका सबैलाई सहज र सरल भएको छ ।
ज्ञादिका परिश्रमी युवा राम शर्मा
