लैंगिक समानता र दिगो विकासका लागि महिला शिक्षामा जोड दिनुपर्ने

 

२४ फागुन, पातिचौर, पर्वत । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले लैंगिक समानता, सामाजिक न्याय र दिगो विकासको सुनिश्चिताका लागि महिला शिक्षा तथा सचेतीकरणमा लगानी बृद्धि गर्नुपर्ने कुरामा जोड दिएका छन् । मोदी गाउँपालिका, गाउँ कार्यपालिकाले शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वत, सँगको समन्वयमा आयोजना गरेको प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रमका अधिकांश बक्तासहितका सहभागीहरुले महिलाको वर्तमान अवस्थामा परिवर्तन ल्याउनका लागि पुरातनवादी सोच, विभेदकारी ब्यवहार र समाजमा ब्याप्त विकृति विसंगतिको अन्त्य गरिनुपर्ने कुरा औंल्याए ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले बदलिँदो परिवेशअनुसार महिलाहरु निर्धक्क रुपमा अघि बढ्नुपर्ने कुरामा जोड दिइन् । महतले हिजोको जस्तो आजका महिला घर धन्दामा मात्र सिमित हुन नहुने भन्दै शिक्षा दिक्षा आर्जन गरेर आफ्नो प्रगतिको बाटोमा लाग्न आम महिला वर्गलाई अनुरोध गरिन् । अवसर पाए महिलाले जस्तोसुकै काम पनि जिम्मेवारीपूर्ण तरिकाले सम्पादन गर्न सक्ने कुरा ब्यवहारमा पुष्टी भैसकेकाले अब हरेक महिलाले आफूलाई राजनीतिक, सामाजिक, आर्थिकसहित सर्वाङ्गिण क्षेत्रमा अग्रसर गराउनुपर्ने खाँचो रहेको कुरामा महतको जोड रहेको थियो । अन्तरक्रिया कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) का राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै संबैधानिक रुपमा नै नेपाली महिलाहरुका अधिकारलाई सुरक्षित गरिएकाले महिलाहरुले आफ्नो अधिकारको प्रयोग तथा उपयोग गर्न कम्मर कसेर लाग्नुपर्ने बताए । पहाडीले दिगो विकास लक्ष्य र लक्ष्य ४ ले शिक्षा र लैंगिक समानताको विषयलाई कति महत्वका साथ उठान गरेको छ भन्ने बारेमा अन्तरक्रियात्मक प्रस्तुतीकरण राखेका थिए । उनले महिलाको शिक्षा, स्वास्थ्य, प्रजननलगायतका अधिकारहरुलाई ब्यवहारिक रुपमा कार्यान्वयन गर्न देखापरेका चुनौतीहरु र तिनका समाधानका उपायहरु आफ्नो प्रस्तुतीकरणमा समेटेका थिए ।

अन्तरक्रियामा सहभागी भएका सबैजसो बक्ताहरुले महिला र विशेषगरी छात्राहरुलाई आजको आधुनिक युगअनुसारको टिकाउ र बिकाउ शिक्षासहितको अवसर दिन सक्नुपर्ने तर्क प्रस्तुत गरे । बक्ताहरुले महिलामाथि हुने गरेका हत्या, हिंसा, घरेलुहिंसा, बलात्कार, मानहानी, अन्याय, थिचोमिचो, कुरिति र कुसंस्कारलाई अन्त्य गर्न महिला र पुरुषका बीचमा सहकार्य तथा साझेदारीको आवश्यकता औंल्याए । महिलालाई घरभित्र मात्र सिमित गर्ने पितृसत्तात्मक सोच र ब्यवहारको समूह अन्त्य हुनुपर्ने कुरामा सबैजसो बक्ताहरुले जोड दिएका थिए । तीनै तहका सरकारले महिलालाई सम्मानित जीवन जीउने वातावरण सुनिश्चित गर्न आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने र महिलाहरु आफै पनि स्वजागरुक बनी आफ्नो हक अधिकारका साथमा कर्तब्यको पालन गर्नुपर्ने खाँचो रहेको उनीहरुको भनाई थियो । कार्यक्रममा कार्यपालिका सदस्य शान्ति पौडेलले एउटी महिलाले अर्की महिलाको पीडा, दुख र वेदनालाई बुझ्न नसक्नु ज्यादै दुर्भाग्यपूर्ण कुरा भएको बताउँदै महिलाले नै महिलाको बिरुद्ध काम गरेपछि पुरुषले हेप्ने अवसर पाउने भएकाले महिला–महिलाका बीच सौहार्दता र एकताको खाँचो रहेको बताइन । उनले लैंगिक समानताको अवधारणालाई घर–घरबाट कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिइन ।

पूर्व शिक्षक तथा सामाजिक राजनीतिक अभियन्ता हिरादेवी पौडेलले दशकौं अघिदेखि महिलाले भोग्दै आएको हैरानी, विभेद, अन्याय, शोषण र असमानताको स्थितिलाई अब जुनसुकै उपायबाट पनि फेर्नुपर्ने कुरामा जोड दिइन । यसका लागि सबै महिलाहरु एकजुट भएर समानताका लागि समतामा आधारित बन्दोबस्त मिलाउन आवाज बुलन्द गर्नुपर्ने आवश्यकता रहेको उनको तर्क थियो । कार्यक्रममा कार्यपालिका सदस्य नरमाया विक, गंगा तिमिल्सिना, सीता कुमारी शर्मालगायतले आ–आफ्नो मन्तब्य राखेका थिए । अन्तरक्रिया कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाका प्रमुख शोभादेवी शर्माले गरेकी थिइन भने स्वागत मन्तब्य सोही शाखाकी बिष्णु कुमारी गौतमले राखेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज