पाँचथर,
पाँचथरमा निर्माण सम्पन्न नै नभएको आयोजना प्रधानमन्त्री मार्फत उद्घाटन गराइएको छ । सुख्खा क्षेत्रका रुपमा स्थापित जिल्लाको तुम्बेवा गाउँपालिकाको आङना र मौवा क्षेत्रका नागरिकलाई खानेपानी सुविधा दिन अगाडि बढाइएको आयोजनाको काम पूरा नगरी उद्घाटन गराइएको हो ।
संघीय खानेपानी ढल व्यवस्थापन आयोजना इलाम मार्फत ४५ करोड ८६ लाखको लागतमा निर्माण भएको आयोजनाको उद्घाटन गर्न सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरी पाँचथर पुगेका थिए ।
तुम्बेवा गाउँपालिका वडा नम्बर ३ का १ हजार ६ सय ४ परिवारलाई खानेपानी सुविधा दिन तमोर खोलाबाट लिफ्ट सिष्टमबाट ल्याउन लागिएको खानेपानी आयोजना सम्पन्न गरेर निर्माण कम्पनीले हस्तान्तरण गर्न बाँकी नै छ भने घरधुरीमा धारा जडान गर्ने र निर्माण भएका संरचनालाई पूर्णता दिने काम अधुरै छन् ।
आयोजना कार्यन्वयनको जिम्बेवार पक्ष संघीय खानेपानी ढल व्यवस्थापन आयोजना इलामका प्रमूख सुरतलाल चौधरीले काम सम्पन्न नभए पनि तमोरखोलाबाट मौवा बजारसम्म १ हजार तीनसय ९६ मिटर ठाडो उचाइमा परिक्षण सफल भएकाले उद्घाटन गरिएको बताए । ‘बाँकी घरमा धारा जडान हुँदै गर्छन्, मुहानदेखि अन्तिम स्टेसनसम्म पानीको परीक्षण सफल हुनु नै ठूलो कुरा हो’ उनले भने ।
निर्माण व्यवसायी कम्पनी कन्काई प्रेरा जेभिका प्रोजेक्ट म्यानेजर चन्द्रनारायण चौधरी भने आयोजना सम्पन्न गरेर उपभोक्ता समितिलाई हस्तान्तरण गर्न समय लाग्ने बताउँछन् । ‘संघीय खानेपानी ढल व्यवस्थापन आयोजना,गाउँपालिका र उपभोक्ता समितिले आफ्नै हिसाबले उद्घाटन गरेका हुन्, हाम्रो तर्फबाट काम सक्न अझै समय लाग्छ’ उनले भने ।
‘गाउँ घरमा धारा बनाउने काम सुरु नै भएको छैन, प्रधानमन्त्री बोलाएर उद्घाटन गरिएछ’ तुम्बेवा २ का स्थानीय याम मगरले आश्चार्य प्रकट गर्दै भने । कार्यक्रममा सहभागी भएका अधिकांश उपभोक्ताले उद्घाटन गरिसकेपछि घरधुरीसम्म धारा जडान गर्ने काम रोकिने हो कि ? भनेर शंका गरेका छन् ।
उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र खत्रीले घरधुरीमा धारा जडान गर्ने बाँकी काम उपभोक्ताको लागत साझेदारीमा सम्पन्न गर्ने बताए । मौवा बजारस्थित आयोजना क्षेत्रको अन्तिम स्टेसनमा निर्माण गरिएको धारो खोल्दै प्रधानमन्त्रीले आयोजनाको उद्घाटन गरेका थिए ।
नेपाल सरकारले तत्कालीन आङना र मौवा गाविसलाई २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपछि २०७४ सालमा तमोर लिफ्ट खानेपानी आयोजना काम सुरु भएको थियो । आसन्न स्थानीय तहको निर्वाचनका लागि चैत १५ गतेदेखि आचार संहिता लाग्दैछ । सो आचार संहिता छल्नका साथै मतदाता प्रभावित पार्न वर्तमान सरकारको गठबन्धनका नेताहरुले हतारमा प्रधानमन्त्री बोलाएर आयोजनाको उद्घाटन गराएको सरोकारवालाको टिप्पणी छ ।
नागरिकका घरमा पानी पुर्याउँछौं : प्रधानमन्त्री देउवा
यसैबीच प्रधानप्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका घरमा खानेपानीको पहुँच पुर्याउन सरकार प्रतिबद्व रहेको बताएका छन् ।
पाँचथरको तुम्बेवामा आयोजित आङना मौवा पाँचथर बृहद् पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । ‘देशका धेरै गाउँघर र सहरबजार सबैतिर खानेपानीको अभाव छ सबै घरधुरीका नागरिकसम्म खानेपानीको पहुँच पुर्याउन सरकार प्रतिबद्व छ’ उनले भने ।
कान्तिपुर