पर्वत, ५ जेठ
राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा जेठ ६ गतेदेखि १६ गते सम्म सञ्चालन हुने गरी कृषि पर्यटन महोत्सव सञ्चालन हुने भएको छ । स्व. राधादेवी गुरुङको ८० औंँ जन्मजयन्तिको अवसर पारेर प्रतिष्ठानले १० दिने महोत्सव सञ्चालन गर्न लागेको हो ।
कुश्मा बजारको बडागाउँ खेल मैदानमा सञ्चालन हुन गइरहेको महोत्सवको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आयोजकका तर्फबाट मुल महोत्सव संयोजक शिव उचै ठकुरीले दिएको जानकारी अनुसार विभिन्न विधागत खेलकुद कार्यक्रम सहित राष्ट्रिय कलाकारको उपस्थितिमा रमाइलो मेला सहितको महोत्सव सञ्चालन हुने भएको हो । ठकुरीका अनुसार १० दिन सम्म सञ्चालन हुने महोत्सवमा विशेष गरी पर्वतको कृषि तथा पर्यटनको प्रबद्र्धन गर्ने मुख्य उद्देश्य राखिएको छ । महोत्सवमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको दैनिक सांगितिक प्रस्तुति, कृषि तथा पर्यटन प्रबद्र्धनका स्टलहरु, रमाइलोमेला, पर्वत डान्स आइडल लगायतका कार्यक्रमहरु रहेका छन् ।
महोत्सवमा २ सय भन्दा बढी स्टलहरु रहेको र १ सय ६० भन्दा बढी स्टलहरु बुकिङ भइसकेको आयोजकले जानकारी दिएको छ । ६० लाख अनुमानित खर्च हुने गरी सञ्चालन हुन लागेको महोत्सवबाट ७० लाख रुपैँया आम्दानी गर्ने र आम्दानीको रकमबाट सोही खेल मैदान व्यवस्थापन, शौचालय निर्माण लगायतका सामाजिक कार्यहरु गर्ने योजना रहेको आयोजक प्रतिष्ठानका अध्यक्ष लेखबहादुर गुरुङले बताए ।
पत्रकार सम्मेलनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङले राधादेवी गुरुङ र चन्द्रबहादुर गुरुङको राजनीतिक पृष्ठभूमि र सामाजिक क्षेत्रमा उहाँहरुले पुर्याएको योगदानको चर्चा गर्दै सामाजिक क्षेत्रमा नै कार्य गरेर उहाँहरुलाई सम्झिने गरी महोत्सवका आयोजना गरिएको बताउनुभयो । महोत्सव सञ्चालनका लागि स्थानीय प्रशासन समक्ष आधिकारिक रुपमा स्वीकृत लिएर अघि बढिएको बताउँदै स्थानीय व्यावसायी समेतको सहकार्यमा महोत्सव सफल बनाउने अभियानका साथ अघि बढिएको संयोजक ठकुरीले बताउनुभयो ।
विहिबार आयोजित पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष सन्तोष थापाले महोत्सवलाई सफल पार्नका लागि सञ्चार क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
okalatnews