पर्वत /जेठ ८
देशको विभिन्न ठाउमा अझै मतगणना जारी भैरहेपनि पर्वतमा भने मतगणना सकिए लगत्तै जनप्रतिनिधि नै गल गैँची लिएर सडक मर्मत र नाली सफाईमा लागेका छन् ।
पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङलाई सदरमुकाम कुश्मा बजारसँग जोड्ने दुर्लुङ-कुश्मा सडक खण्डको केही भाग हालै निर्वाचित भएका जनप्रतिनिधिहरूले नै सफा गरेका छन् ।
बर्खा यामको समय आएको र दिनहुँ जसो भइरहेको वर्षाका कारण नाली पुरिएर सडक नै बिग्रने अवस्था आएपछि जनप्रतिनिधिहरू नै गल गैँची बोकेर सडकको नाली निर्माणमा लागेको हुन् । दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याले आफू सहित हालै निर्वाचित भएका अन्य चार जना सदस्यहरूको नेतृत्वमा केही गाउँलेहरूको सहयोग लिएर झन्डै साढे दुई किलोमिटर सडकको नाली सफा गरिएको बताए ।
नाली अड्किएको ढुङ्गा, माटो, पात, रुखका जरा लगायतका कारण नाली थुनिएका कारण आफूहरूले नै सडक नाली सफाइमा निस्किएको उनको भनाई छ । जनतालाई सहजरुपमा सेवा सुविधा दिन्छु भनेर प्रण गरेका छौ बर्खा सुरु हुन लाग्यो अव सडक खानेपानि तथा अन्य कुनैपनि अत्याबश्यक बस्तुहरु हेरेर हामि जनतालाई सहयोग गरिरहेका छौ ।
‘हामी जनताको सेवा गर्न भनेर निर्वाचित भएका हौं । नाली थुनिँदा सडकमा आएको भेलले बाटो एक छिनमा बिगारिदिन्छ । गाउँ आउजाउ गर्ने यातायात नै बन्द हुने अवस्था पनि आउन सक्छ,’ अध्यक्षले भने, ‘कोदाली र साबेलले फाल्न सक्ने नालीको भाग हामीले सफा गरेका हौँ । अब अलिकति भाग मान्छेले सफा गर्न नसक्ने खालको छ, त्यसका लागि जेसीबी बोलाइएको छ ।’
वडाध्यक्ष सहित सदस्यहरू महेन्द्र कुमार गुरुङ, चूडामणि शर्मा, सुधा गुरुङ र गङ्गामाया बि.क. सहित झन्डै १५ जना गाउँलेहरू मिलेर कुश्मा हुँदै जाने डाँडा बिसाउनेदेखि रोहोटे चोकसम्मको भागमा सफा गरिएको हो । पर्वतका बिभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले सफत खाए सगैँ जनताकोे सुख दुखमा साथ दिन लागेका छन् ।