बुटवल
लम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला खत्री वलीले एक महिला र उनकी नाबालीका छोरी लाई हातपात गरेकी छन् । महिला र बालिकामाथि हातपात गर्ने राज्यमन्त्री विमला खत्री वलीलाई बर्खास्त गर्न एमालेले माग गरेको छ ।
लुम्बिनी प्रदेश सभामा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नैतिकताको आधारमा आजकै मितिदेखि बर्खास्त गर्न आग्रह गरेका छन् ।
एक जना मन्त्रीको कारण प्रदेश सरकार, प्रदेशसभा र प्रदेशबासीकै शिर निहुरिएको भन्दै वलीलाई बर्खास्त गरी सरकार र संसदको गरिमा जोगाउन मुख्यमन्त्री केसीलाई चौधरीले आग्रह गरे ।
चौधरीले भने -‘विमला वलीको घृणित कार्यले सरकार र प्रदेशसभाको मात्र होइन प्रदेशबासीकै शिर निहुरिएको छ, यस्तो घृणित कार्य गर्ने व्यक्ति मन्त्री पदमा बसिरहन हुँदैन ।’
एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले पनि सरकारको राज्यमन्त्री जस्तो महिलाले अर्की महिला र नाबालिकामाथि गरेको कार्य निन्दनीय र खेदजनक रहेको भन्दै उनलाई बर्खास्त गर्न सरकारसँग माग गरे ।
‘प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले वलीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्ने र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भने ।
ढकालले अर्काको घरभित्र पसेर महिला र बालिकामाथि हातपात गरेकी राज्यमन्त्री वलीको कुकृत्यलाई ढाकछोप नगर्न सरकारलाई आग्रह गरे ।
प्रमुख सचेतक ढकालले प्रहरी नियन्त्रणमा रहेकी वलीलाई मुख्यमन्त्री केसीले जोगाउन खोजे समग्र महिलामाथि नै अपमान हुने बताए ।
‘नागरिकको सुरक्षा गर्नुपर्ने सरकार आफैंले महिला र बालिकामाथि हातपात गर्ने मन्त्रीलाई ढाकछोप गर्न खोज्नु खेदजनक छ’, उनले भने ।
वलीले मिनाका श्रीमान एकराज बस्नेत आफ्नो श्रीमान भएको भन्दै एकराजलाई निकाल्न भन्दै मिना र छोरीलाई कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । मंगलबार बिहानै बडीगार्डसहित दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ आलुमण्डी पुगेकी राज्यमन्त्री वलीले स्थानीय मिना भण्डारी बस्नेतको घरमा पसेर मिना र उनकी नाबालक छोरीलाई कुटपिट गरेकी थिइन् । विमलाले आफ्नो पति भनिएका मिनाका पति एकराज भने सम्पर्कविहीन छन् । गत वर्ष पनि विमला र एकराजबीच प्रेम सम्बन्ध रहेको विषय पहिले नै बाहिरीएको थियो ।
२०७४ सालको निर्वाचनमा दाङको क्षेत्र नम्बर ३ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका उत्तरकुमार वलीको सडक दुर्घटनामा परी निधनपछि भएको उपनिर्वाचनमा एमालेले उनकै श्रीमती विमलालाई उम्मेदवार बनाएको थियो । उपनिर्वाचनमा निर्वाचित वलीले नेकपा विभाजनपछि भने माओवादी केन्द्र रोजेर राजनितिक यात्रा अगाडी बढाएकी थिइन् ।