क्याङ
पर्वतको मोदी गाउँपालिका वडा ५ बाजुङको पातिचौर बजार देखि बाजुङ हुँदै क्याङ नागी जोड्ने सडक कालोपत्रेको काम यसै बर्ष देखि हुने भएको छ । २ बर्ष अघि निणर्य भएको सडकको कालोपत्रेको काम ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) कार्यक्रम मार्फत प्रक्रिया शुरु भएको हो ।
सडक कालोपत्रेका लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन भएको छ । प्रदेश सरकार मार्फत सडक आयोजनाले कालोपत्रे गर्ने गरी बजेट विनियोजन गरिएको छ । ग्रामीण पूर्वाधार विभाग मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको कार्यालय मार्फत उक्त सडकको कालोपत्रेको लागि प्रारम्भिक वातावरणीय परिक्षणको काम केहि महिना अघि सम्पन्न भएको थियो । आगामी आर्थिक बर्षमा टेण्डर आब्हान भई सडक कालोपत्रेको चरणमा जाने संघीय सांसद पदम गिरीले जानकारी दिनुभयो ।
यस बाहेक मिलन चोक लेकफाँट साजिला नागी सडकको पनि निर्माण कार्यको चरण अघि बढेको छ । डिपिआर कार्य सकिएको उक्त सडकको प्रारम्भिक वातावरणीय परिक्षण लगतै ठेक्का प्रक्रियामा जाने आयोजनाले जनाएको छ । जिल्लाका अन्य ७ वटा सडकहरुसंगै यो सडक पनि निर्माणको लागि कार्यक्रममा निणर्य भएको हो । यसरी पर्वतका बिभिन्न सडकहरु कालोपत्रेको प्रक्रियामा गएका छन् ।