काठमाडौं ।
पुराना सञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौंको क्षेत्र नम्बर ३ बाट आगामी प्रतिनिधिसभामा उम्मेदवारी दिने भएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् ।
हरिशरणले केही दिन अघि नै प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका थिए । तर, निर्वाचन क्षेत्र निश्चित भएको थिएन । केही स्वतन्त्र उम्मेदवारहरुबीच भएको छलफलपछि आफूले ३ नम्बरमा लड्ने तय भएको लामिछानेले बताएका छन् ।
यता हरिशरणका साख्य भाइ रवि लामिछाने पनि प्रतिनिधिसभाको चुनाव लड्ने गृहकार्यमा छन् । उनले पनि काठमाडौंको क्षेत्र नम्बर ३ मै रुची देखाइरहेका छन् । यदि उनले पनि यही निर्वाचन क्षेत्र रोजे भने दाजु-भाइ नै एक-अर्काका प्रतिस्पर्धी बन्ने छन् ।
हरिशरण र रवि दुवै काठमाडौं-३ कै मतदाता हुन् । उनीहरुको स्थाइ घर भने काभ्रेको नगरकोटमा पर्छ । बाबुआमा ३ छोरामध्ये हरिशरण जेठा र रवि कान्छा हुन् । माइला भाइ भने मिडियाभन्दा बाहिर छन् । छोराछोरी सानै छँदा उनीहरुका बुबाको निधन भएको थियो ।
हरिशरणले आफूले उम्मेदवारी दिन लागेको विषयमा भाइ रविलाई जानकारी गराएको बताए ।
उनले भने, ‘मैले उम्मेदवारी दिने घोषणा गरेपछि भाइसँग सल्लाह गरेको थिएँ । उसले चाहिँ आफ्नो निर्वाचन क्षेत्र टुंगो नलागेको बतायो ।’
रविले आफैं पार्टी गठन गर्ने गृहकार्य पनि गरेकाले स्वतन्त्र उम्मेदवारहरूको अभियानमा सहभागी नभएको हरिशरण बताउँछन् ।
‘यदि स्वतन्त्र उम्मेदवार दिन्छु भन्यो भने हामी सँगै हुन पनि सक्छौं, त्यो अवस्थामा निर्वाचन क्षेत्र तलमाथि हुन सक्छ,’ उनले भने, ‘तर, पार्टी नै गठन गरेको खण्डमा भने मैले आफ्नो निणर्य लिनुपर्छ ।’
रविले गठन गर्ने पार्टीमा आफूलाई जोड्न अनिच्छा व्यक्त गरेको पनि हरिशरणको भनाइ छ । यता रविनिकट स्रोतले चाहिँ पार्टी गठन गर्ने, अर्को पार्टीमा प्रवेश गर्ने वा स्वतन्त्र चुनाव लड्ने टुंगो नलागिसकेको बताएको छ । रवि अहिले निकटस्थहरूसँग छलफलको क्रममा नै छन् ।
‘दाजुभाइ नै एउटै पार्टीमा हुँदा परिवारवाद, नातावादी इत्यादि कुराहरु आउँछन् भनेर उसले मलाई त्यसमा नजोडिन सुझाव दियो र मलाई पनि ठिकै लाग्यो,’ उनले भने ।
दाजुभाइ एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा हुनसक्ने सम्भावनाबारे प्रश्न गर्दा हरिशरणले भने, ‘सुरूमा मैले चुनाव लड्ने भनेर घोषणा गरेपछि रविले टेलिभिजन छोडेको हो । अहिले पनि मैले ३ नम्बरमा लड्ने फिक्स्ड भइसकेपछि उसले पनि यही क्षेत्र रोज्यो भने त्यसमा मैले के गर्न सक्छु र ?’ नेपालप्रेसबाट….