पर्वत, २५ साउन
बृक्षारोपण कार्यक्रमको आयोजना गरी ४९ औं भू संरक्षण दिवस तथा ७ औं सामुदायिक वन दिवस मनाइएको छ ।पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा भु-तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत र डिभिजन वन कार्यालय पर्वतको संयुक्त आयोजनामा बृक्षारोपण गरी दिवस मनाइएको हो ।
एक स्थानीय तह एक औद्योगिक ग्राम नजिकै रहेको पहुँच सडकको छेउ तथा भित्तामा ओशाका, म्याङगोस्टिक लगायत विभिन्न प्रकारका विरुवाहरु रोपण गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख एबम सो कार्यक्रमका प्रमुख अतिथि विष्णुराम विकले कार्यक्रम बृक्षा रोपण मात्र गरेर नहुने रोपिएका बिरुवाहरुको रेखदेख समेत गर्नुपर्ने बताउनुभयो ।
बिकले रुख विरुवाका कारण धेरै जसो स्थानहरुमा भू क्षय हुन बाट जोगिएको उदाहरण दिँदै बृक्षारोपण गरेर मात्रै नभएर त्यसको संरक्षणमा पनि ध्यान दिन अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले जल जमिन र जंगलको संरक्षण भएर प्राकृतिक स्रोतको संरक्षण हुन सकेमा जुन सुकै प्राणीलाई पनि बाँच्न र बचाउन सकिने बताउनुभयो ।
एकिकृत जलाधार व्यवस्थापन? माटो र पानीको स्याहार, समृद्धिको मूल आधार, सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी भन्ने मुल नाराका साथ आयोजित कार्यक्रमममा डिभिजन बन कार्यालय पर्वतका प्रमुख विष्णुप्रसाद अधिकारीले सामुदायिक वनको महत्वको बारेमा प्रष्टाउनुभएको थियो ।साथै अधिकारीले दिवसको सन्दर्भमा पनि जानकारी दिनुभएको थियो ।
भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलले ४९ औं भू संरक्षण दिवसको अवसरमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. १ का वडाअध्यक्ष खगराज पौडेलले स्वागत गर्नुभएको थियो भने नेपाने सामुदायिक वन समुहका अध्यक्ष हेमराज सुवेदीले कार्यक्रमको समापन गर्नुभएको थियो ।