पकुवा, पर्वत
दिगो विकासका १७ लक्ष्य हासिल गर्न स्थानीय युवाहरुको भूमिका के हुन सक्दछ भन्ने विषयमा एक दिवसीय सम्बाद कार्यक्रम कुश्मा नगरपालिका ११ पकुवामा सम्पन्न भएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वतको आयोजना तथा जिल्ला युवा समिति पर्वत र पकुवा युवा क्लबसँगको समन्वयमा अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को सन्दर्भ पारेर सम्पन्न भएको सम्बाद कार्यक्रममा सहभागी युवाहरुले नेपालका राजनैतिक दल र तिनका नेतृत्व वर्गले युवाहरुको दक्षता र क्षमताको पहिचान गरी मुलुक निर्माणमा सदुपयोग गर्न नसकेको गुनासो व्यक्त गरे । सहभागी युवाहरुले जवसम्म युवालाई केन्द्रमा राखेर तथा उनीहरुको सहभागितामा विकास निर्माणका योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने गरिँदैन तवसम्म समाजको सकारात्मक रुपान्तरण हुन नसक्ने दावी गरे । दिगो विकासका सबैजसो लक्ष्यहरुले युवा समुदायको भूमिकालाई महत्व दिएको भएता पनि नेपालको सन्दर्भमा तीनै तहका सरकारहरुले त्यसको मर्मलाई आत्मसाथ गर्न नसकेकोमा उनीहरुले दुःख प्रकट गरेकाछन् ।
सम्बाद कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले दिगो विकास लक्ष्य हासिल गर्न स्थानीय युवाहरुको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै युवा समुदायको समझ, दृष्टिकोण, सुझबुझ र जोश जाँगरलाई स्थानीय सरकारहरुले उपयुक्त ढंगले उपयोग गर्न सकेमा दिगो विकास लक्ष्य हासिल गर्न सहज हुने बताए । उनले स्थानीय नीति निर्माण, योजना तर्जुमा, योजना कार्यान्वयन, अनुगमन सुपरीवेक्षण र प्रतिफलको बाँडफाँडमा समेत युवा वर्गको वास्तविक सहभागिता सुनिश्चित गर्न सक्ने हो भने दिगो विकासका लक्ष्य हासिल गर्न सहज हुने र समुदायको रुपमान्तरणमा ठोस परिणाम देखिने कुरामा जोड दिए । उचित शिक्षा र सशक्तीकरणका माध्यमबाट युवाको प्रतिभालाई बाहिर निकाल्न सकिनेमा ध्यान दिनुपर्ने उनले सुझाए ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष बाबुराम पौडेलले युवा वर्गको क्षमतालाई कम आँक्ने गल्ती गर्न नहुने भन्दै स्थानीय स्तरमा संचालन हुने हरेक विकास निर्माणका गतिविधिमा युवाको साझेदारी र सहभागितालाई प्राथमिकता दिनुपर्ने बताए ।
जिल्ला युवा समिति पर्वतका अध्यक्ष थमनारायण पौडेलले युवा भनेको उमेर मात्र नभई जिउँदोजाग्दो विचार पनि भएकाले बदलिँदो परिवेशमा नवीन विचारसहितका युवाहरुलाई समाजले अग्रपङ्तिमा राखेर व्यवहार गर्नुपर्ने खाँचो रहको औंल्याए । युवाहरुका चाहना र अपेक्षासँग तालमेल गरेर अघि बढ्दा मात्र मुलुकले कायापलटको दिशा लिन सक्ने उनको तर्क थियो ।
पकुवा युवा क्लबकी सचिव सुस्मिता मल्लले दिगो विकासका लक्ष्यमा नेपाल सरकारले जनाएको प्रतिबद्धतालाई हासिल गर्नका लागि स्थानीय स्तरबाट पनि युवा समुदाय जागरुक भएर क्रियाशील हुनुपर्ने कुरामा जोड दिइन् । उनले युवा भनेको अथाहा सम्भावना बोकेको जुझारु वर्ग भएकाले पनि नीति निर्माण र कार्यक्रमहरु बनाउँदा युवालाई भुल्न नहुने भन्दै स्थानीय निकायको ध्यानाकर्षण गराइन ।
स्थानीय बीरेन्द्र माविमा निमित्त प्रधानाध्यापक हिरा बहादुर क्षेत्रीले समुदायको समग्र विकासमा युवाले जिम्मेवारीपूर्ण तरिकाले भूमिका निर्वाह गर्दा मात्र दिगो विकासका लक्ष्यहरु निर्धारित समयमा नै हासिल गर्न सकिनेतर्फ ध्यान दिनुपर्ने बताए ।
एनसिई नेपाल, जिल्ला युवा समिति र स्थानीय पकुवा युवा क्लबका सदस्यहरुको सहभागिता रहेको उक्त सम्बाद कार्यक्रम जिल्ला युवा समितिका अध्यक्ष थमनारायण पौडेलको अध्यक्षता, पकुवा युवा क्लबका सचिव सुस्मिता मल्लको स्वागत मन्तब्य तथा युवा चेतना सामुदायिक विकास संस्थाका अध्यक्ष गणेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।