काठमाडौंमा सेवा प्रवाहका लागि ‘टाइम कार्ड’

 काठमाडौं,

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा प्रवाहका लागि टाइम कार्ड लागू गरेको छ । बिहीबारदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनलाइनखबरलाई बताए ।

उनका अनुसार प्रशासनबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गर्न यो नियम लागू गरिएको हो । सेवा लिन आउनेले आवश्यक कागजात पूरा गरे तोकिएको निश्चित समयभित्र उनीहरुले सेवा पाउनेछन् ।

‘नागरिकता बनाउनका लागि कागजात पुगेको छ भने एक घन्टाभित्रमा तयार हुनेछ’, उपाध्यायले भने, ‘संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक परिचय पत्र, प्रशासनबाट प्रदान हुने अरु सबै सिफारिसतका लागि एक घन्टा समय तोकेका छौं ।’ उनका अनुसार राहदानी छपाइ भएर आइसकेपछि लिनका लागि १५ मिनेटमा काम हुने छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेर सेवा प्रवाहको अवस्थाको निरीक्षण गरेका छन् । उनले काठमाडौं प्रशासनले थालेको कामको प्रशंसा गर्दै नागरिकलाई सेवा लिन आउँदा सास्ती हुन नहुने बताए । लामिछानेले भने, ‘यो विस्तारै अन्यत्रका प्रशासनतिर पनि अभ्यास गर्नुपर्छ ।’

मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि ३० मिनेट छुट्टयाइएको छ भने प्रमुख जिल्ला अधिकारीले गर्ने फैसला ६० दिनभित्र गरिसक्ने भनिएको छ । ‘विगतमा राष्ट्रिय परिचय पत्र र पासपोर्ट लिनेको लाइन लाग्यो भनेर धेरै गुनासो आयो, त्यसैले यसको व्यवस्थापनका लागि यो निर्णय गरिएको हो’, उपाध्यायले भने, ‘अझै सुधारका ठाउँहरु छन्, यो पहिलो प्रयास हो ।’ONLINEKHABAR

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज