पर्वतमा १४ औँ चरणको हात्तिपाईले बिरुद्धको औषधी खुवाईने

पर्वत

१४ औँ चरणको औषधी खुवाउने अभियान फागुन ११ गतेदेखि शुरु गरिने भएको छ । पर्वतमा यसवर्ष अधिकतम रुपमा हात्तिपाईले बिरुद्धको औषधी खुवाईने भएको हो । जिल्लामा अन्तिम चरणमा यसवर्ष हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने अभियान रहेकाले कोहि पनि नछुटुन भनेर स्वास्थ्य कार्यालयले तयारी गरेको हो । स्वास्थ्य कार्यालयले आज पर्वतका पत्रकार लाई यसबारेमा जानकारी दिँदै सबै क्षेत्रबाट सहयोगको आव्हान गरेको छ ।

औषधी खाएपनि नङमा मसी लगाउने देखि खोप कार्ड बनाउने लगायतका विधि अपनाईने भएको छ । कतिपय गाउँ र बस्तीमा विभिन्न धार्मिक मान्यताका कारण पनि औषधी नखाएको जानकारी आएकाले ती स्थानमा परामर्श दिएर औषधी खुवाउन पहल हुने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो ।

हात्तिपाइले अभियानका फोकल पर्सन तेजप्रसाद सुबेदीका अनुसार पर्वतमा हात्तिपाइले रोगको पुर्व परिक्षणमा ० दशमलव ४ प्रतिशत जनसंख्या मा हात्तिपाइलेको जीवाणु देखिएको हुनाले यसवर्ष अन्तिम चरणमा आम औसधि खुवाउन लागिएको हो । गत मंसिरमा जिल्लाको बढी जोखिम रहेको कुश्मा नगरपालिका १ पाङमा ३२० जनाको रगत परिक्षण गरिएकोमा १ जनामा हात्तिपाइलेको जिवाणु भेटिएको र बिहादी गाउँपालिका २ बराचौरमा ३१९ जनाको परिक्षण गरिएकोमा १ जनामा जीवाणु भेटिएको सुबेदीले जानकारी दिनुभयो ।

गतवर्ष फलेवास नगरपालिका ५ खानीगाउँ पुर्व परिक्षणमा सफल भएको थियो हात्तिपाइलेको जीवाणु १ प्रतिशत भन्दा कम जनसंख्यामा देखिएमा रोग निवारण भएको मानिन्छ । पर्वतमा ०.४ प्रतिशत संक्रमण भएको हुनाले औषधि खुवाउने अभियान सफल भएको स्वास्थ्य कार्यालयको दाबी छ । हात्तिपाइले रोग बिरुद्धको औषधि कुल जनसंख्या १ लाख ३२ हजार मध्ये गर्भवती, ७ दिनको सुत्केरी, जटिल बिरामी र २ वर्षमुनीका बालबालिका बाहेक सबैलाई खुवाइने भएको छ । पर्वतमा २०६४ सालदेखी हात्तिपाइले रोग विरुद्धको औसधि खुवाउन थालिएको हो । जिल्लामा अहिले सम्म तीन पटक पुर्व परिक्षण भैसकेको छ ।पर्वत अस्पतालका प्रमुख डा. रुक्मिणा अधिकारीले हात्तिपाईले रोग र औषधीको प्रभावकारिताका बारेमा जानकारी दिनुभयो ।

उहाँले यो औषधीका कुनै नकरात्मक प्रभाव नरहेको स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा पर्वत अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, जिल्ला अध्यक्ष सन्तोष थापा सहित पर्वतका क्रियाशिल पत्रकारहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज