शंकरपोखरीमा रहेको खानेपानीको समस्या समाधान गर्छु :मुख्यमन्त्री पाण्डे

माघ: १

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्वतको शंकरपोखरीमा जटिल रुपमा रहेको खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शहिद हरिदत्त तिवारीको २१ औँ स्मृति दिवशमा प्रमुख अतिथिको मन्तव्य राख्दै उहाँले अहिले सञ्चालनमा रहेको लमाएखोला लिफ्ट खानेपानीको योजनाको काम पुरा गर्ने र अन्य स्थानमा स्रोत खोजेर पानीको समस्या समाधान गर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै सहिद पुत्र तथा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले अहिले पनि फलेवास नगरपालिका–३ शंकरपोखरी पिउने पानीकै अभावमा छटपटाइरहेको बताउँदै तत्कालीन राजा महेन्द्रलाई आफ्ना बुबाले शंकरपोखरीमा पानीको व्यवस्था मिलाइदिन अनुरोध गरेका कुराहरू सुनाउनुभयो । त्यसपछि आफ्ना भनाई राख्दै मुख्यमन्त्री पाण्डेले वर्षौँ अगाडि राजा महेन्द्रकासामु राखिएको पिउने पानी जस्तो गम्भीर समस्याको समाधान अहिलेसम्म पनि हुन नसकेको भन्दै राजाहरूले गरेको विकासमाथि प्रश्न गर्नुभयो ।
हरिदत्त तिवारीले राजा महेन्द्र लाई भनेको कुरा पुरा नभएको स्मरण गर्दै पाण्डेले प्रदेश सरकारले राजा महेन्द्रले पुरा नगरेको माग पुरा गर्ने बताउनुभयो । राजाहरूको शासनकालको तुलनामा अहिलेको विकास निकै राम्रो भएको भए पनि आर्थिक सम्पन्नताको बाटो समात्न भने नसक्दा देश आर्थिक रूपमा बलियो हुन नसकेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशीले स्व. तिवारी जनताको अधिकारको पक्षमा लड्दा लड्दै सहिद बनेको बताए। सहिदहरू पार्टीका लागि मात्रै नभएर समग्र देशवासीको लागि भएको भन्दै उनले यही कारण नै अहिले लोकतन्त्रमा सबैले खुला रूपमा बिचार राख्न पाएको उनको भनाइ छ । खुट्टाले हिँड्ने अवस्था हटाउँदै सडक, टुकी बालेर उज्यालो बनाउनुपर्ने अवस्था हटाउँदै बिजुली, विद्यालय नै नभएको अवस्था हटाउँदै गाउँमा सुविधायुक्त कलेजहरू बनेको बेलामा गाउँहरू भने रित्ता हुँदै गएको अवस्थाप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । प्रदेशका खानेपानी तथा उर्जामन्त्री एवं सरकारका प्रवक्ता सरस्वती आर्याल तिवारीले पूर्वाधार विकासका काम संगै प्रदेश सरकारले सामाजिक एवं आर्थिक विकासमा पनि उत्तिकै ध्यान दिएको दाबी गर्नुभयो । उहाँले जहाँ समस्या रहेको छ त्यहाँ सरकारले आफ्नो बलबुताले भ्याएसम्म सहयोग गर्ने उहाँको भनाई छ । वि.सं. १९८७ सालको पुसमा जन्मिएका हरिदत्तको २०६० सालको माघ एक गते राति तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले हत्या गरेका थिए । उहाँको संझनामा प्रतिष्ठानले हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज