जलजलाको ५३ करोड १२ लाखको बजेट सार्वजनिक, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

पर्वत, १० असार — पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँसभाको २१औँ गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, बालमैत्री स्थानीय शासन तथा राजस्व व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखिएको छ। कुल बजेटमध्ये चालुतर्फ ३५ करोड ६१ लाख रुपैयाँ तथा पुँजीगततर्फ १७ करोड ५१ लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाका अनुसार बजेट कार्यान्वयनका लागि संघीय सरकार, प्रदेश सरकार, आन्तरिक राजस्व तथा राजस्व बाँडफाँटबाट प्राप्त हुने स्रोत परिचालन गरिनेछ। संघीय सरकारबाट समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान र राजस्व बाँडफाँटमार्फत बजेटको ठूलो हिस्सा प्राप्त हुने अपेक्षा गरिएको छ। प्रदेश सरकारबाट पनि समानीकरण, विशेष तथा समपूरक अनुदान प्राप्त हुने जनाइएको छ।

स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै धाइरिङ स्वास्थ्य चौकी तथा नयाँ स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना बजेटमा समेटिएको छ। साथै माथिल्लो धाइरिङमा सुविधासम्पन्न आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण तथा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ।

पूर्वाधार विकासतर्फ अधुरा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित निर्माणाधीन स्वास्थ्य चौकी भवनका लागि थप बजेट व्यवस्था गरिएको छ। पालिकास्तरीय खेलकुद मैदान तथा बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

बालअधिकार संरक्षण तथा सुशासन प्रवर्द्धनका लागि बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम सञ्चालन गर्न ९० लाख रुपैयाँ छुट्याइएको छ। यस कार्यक्रममार्फत बालबालिकामैत्री सेवा प्रवाह तथा स्थानीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।

राजस्व सुधारलाई समेत बजेटको महत्वपूर्ण पक्षका रूपमा समेटिएको छ। आन्तरिक आम्दानी अपेक्षाअनुसार वृद्धि हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै कर प्रशासनलाई प्रभावकारी बनाउने, डिजिटल माध्यमबाट कर भुक्तानीको व्यवस्था विस्तार गर्ने, करदातामैत्री सेवा प्रवाह गर्ने तथा राजस्व चुहावट नियन्त्रण गर्ने नीति अवलम्बन गरिएको छ। सम्पत्ति कर तथा व्यवसाय नवीकरण शुल्कमा प्रदान गरिँदै आएको १० प्रतिशत छुटलाई निरन्तरता दिइएको छ।

गाउँपालिकाले बजेटमार्फत आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई तीव्रता दिँदै पर्यटन प्रवर्द्धन, सुशासन र समावेशी विकासको आधार निर्माण गर्ने अपेक्षा व्यक्त गरेको छ। स्थानीय स्रोतसाधनको अधिकतम परिचालन गर्दै विकास निर्माणका कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता समेत बजेटमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज