११ असार –
पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४ अर्ब २३ करोड २३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बजेट ल्याएका हुन् ।
जिल्लाको कुश्मा नगरपालिकाले ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने फलेवास नगरपालिकाले ६९ करोड रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकातर्फ मोदी गाउँपालिकाले ७५ करोड १९ लाख रुपैयाँ, पैयुँ गाउँपालिकाले ४३ करोड रुपैयाँ, जलजला गाउँपालिकाले ५३ करोड १२ लाख रुपैयाँ, महाशिला गाउँपालिकाले ४६ करोड ४७ लाख रुपैयाँ तथा विहादी गाउँपालिकाले ४६ करोड ४५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
स्थानीय तहहरूले आगामी वर्षको बजेटमार्फत सडक, पुल तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने, कृषि उत्पादन तथा पशुपालनलाई प्रोत्साहन गर्ने, खानेपानी तथा सरसफाइका कार्यक्रम सञ्चालन गर्ने तथा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेका छन्। साथै, युवा स्वरोजगार, महिला सशक्तीकरण, विपद् व्यवस्थापन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई समेत बजेटमा समेटिएको छ ।
जिल्लाका सातवटै स्थानीय तहले सार्वजनिक गरेको बजेटको कुल योग ४ अर्ब २३ करोड २३ लाख रुपैयाँ पुगेको छ । स्थानीय तहहरूले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी तथा अन्य स्रोतलाई आधार बनाएर बजेट निर्माण गरेका हुन्। आगामी आर्थिक वर्षमा बजेटको प्रभावकारी कार्यान्वयनमार्फत स्थानीय विकास र नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा थप सुधार हुने अपेक्षा गरिएको छ ।
