पर्वत, साउन २० –
लामो समयदेखि विवादका कारण पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको पर्वतको कुश्मा बसपार्क अब पाँचबुँदे सहमतिसँगै व्यवस्थित रूपमा सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार सरोकारवाला निकायबीच भएको छलफलले बसपार्कलाई यसको उद्देश्यअनुसार पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विजय यादव, जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिक , कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, यातायात व्यवसायी, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। छलफलपछि बसपार्क सञ्चालनलाई प्रभावकारी बनाउन पाँचबुँदे निर्णय गरिएको हो ।
निर्णयअनुसार अब सबै प्रकारका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा बसपार्कभित्र प्रवेश गर्नुपर्नेछ । यात्रु चढाउने र ओराल्ने कार्य पनि बसपार्कबाटै गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि बसपार्कबाट निस्केका सवारीलाई शिवालय चोकमा १० मिनेटसम्म लाइन बस्न दिइने व्यवस्था खारेज गरिएको छ । सडकमा जथाभावी पार्किङ गर्ने सार्वजनिक सवारीसाधनलाई जरिवाना तथा ‘ह्वील लक’ लगाउने व्यवस्था लागू गरिने भएको छ । अन्य जिल्लाबाट आउने–जाने सबै सार्वजनिक यातायातलाई पनि अनिवार्य रूपमा बसपार्कभित्र प्रवेश गराइने निर्णय गरिएको छ । साथै बसपार्कभित्र रहेका टिकट काउन्टरलाई सरसफाइ तथा स्वास्थ्य मापदण्डअनुसार क्रमिक रूपमा व्यवस्थित बनाइने भएको छ ।
कुश्मा बसपार्क सञ्चालनका विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । शिवालय चोकका केही होटल व्यवसायीले सबै बस र यात्रु बसपार्कभित्र मात्र जाँदा आफ्नो व्यवसाय प्रभावित हुने भन्दै शिवालय चोकमा पनि बस रोक्न र यात्रु चढाउन–ओराल्न पाउने व्यवस्था कायम गर्न माग गर्दै आएका थिए । यही विषयमा पटक–पटक छलफल भए पनि सहमति जुट्न नसक्दा बसपार्क पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन ।
बसपार्क सञ्चालनमा ढिलाइ हुँदा कुश्मा बजारमा सार्वजनिक सवारीसाधन सडकमै पार्किङ हुने, ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्ने तथा दुर्घटनाको जोखिम बढ्ने गरेको स्थानीयवासीको गुनासो थियो । बजारको सौन्दर्यसमेत प्रभावित हुँदै आएको थियो ।
कुश्मा नगरपालिकाले बसपार्क सञ्चालनका लागि गत बर्षको साउन २० गते ११ लाख १९ हजार २५२ रुपैयाँमा बोलपत्र आह्वान गरेको थियो । उक्त ठेक्का युवा व्यवसायी दीपक पुनको नाममा स्वीकृत भएपछि सञ्चालन प्रक्रिया अघि बढेको हो ।
करिब ६ करोड ६६ लाख ३ हजार २५० रुपैयाँको लागतमा निर्माण गरिएको बसपार्कमा दुई स्थानमा सवारी पार्किङ, दुईतले भवन, टिकट काउन्टर, यात्रु प्रतीक्षालय, शौचालय तथा व्यावसायिक प्रयोजनका लागि आधा दर्जन सटरसहितका कोठा निर्माण गरिएका छन् ।
पर्वत सदरमुकाम कुश्माबाट दैनिक रूपमा काठमाडौं, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा र काँकडभिट्टा लगायतका गन्तव्यमा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ । साथै बागलुङ, म्याग्दी, मुस्ताङ र रुकुमतर्फ आवतजावत गर्ने हजारौँ यात्रु तथा सवारीसाधन पनि कुश्मा हुँदै गुज्रने भएकाले बसपार्क पूर्ण रूपमा सञ्चालनमा आएपछि ट्राफिक व्यवस्थापन, यात्रु सेवा र बजार व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । 
