भदौ ७,पर्वत
भारतीय सेनामा २८ वर्ष सेवा गरेर स्वदेश फर्किदा मोदी गाउँपालिका–४, क्याङका लालबहादुर शेरपुर्जा पुन केही अन्योलमा हुनुहुन्थ्यो । लामो समयको जागिरे जीवनपछि गाउँमै बसेर के गर्ने भन्ने प्रश्न उहाँको अगाडि थियो । यही अन्योलबीच उहाँले कृषि पेसालाई रोज्नुभयो र पछिल्ला छ वर्षदेखि गाउँमै विभिन्न कृषि कर्ममा सक्रिय रहनुभएको छ । यसैक्रममा उहाँले जिल्लामै नयाँ प्रयोगका रूपमा स्याउ खेती सुरु गर्नुभयो । सुरुमा थोरै बिरुवाबाट परीक्षणका रूपमा सुरु गरिएको उहाँको प्रयास अहिले सयभन्दा बढी बिरुवामा फैलिएको छ । समुन्द्री सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको क्याङमा उहाँले किङरोड, फुजी, गाला र गोल्डेन गरी ४ जातका स्याउ सफलतापूर्वक फलाउनुभएको छ । यससँगै पर्वतका उच्च पहाडी क्षेत्रमा पनि स्याउ खेतीको सम्भावना रहेको एउटा उदाहरण देखिएको छ ।
युट्युवबाट सिक्दै सुरु भएको लालबहादुरको स्याउ यात्रा
स्याउ खेती सुरु गर्दा लालबहादुरसँग यससम्बन्धी खासै ज्ञान थिएन । न उहाँले कुनै विशेष तालिम लिनुभएको थियो, न त सुरुआती चरणमा प्राविधिकको प्रत्यक्ष सहयोग नै पाउनुभएको थियो । तर नयाँ कुरा सिक्ने इच्छाले उहाँलाई रोक्न सकेन । उहाँले युट्युबमा स्याउ खेतीसम्बन्धी सामग्री हेर्दै बिरुवा रोप्ने, गोडमेल गर्ने, काटछाँट गर्ने तथा बिरुवाको हेरचाह गर्ने तरिका सिक्दै अगाडी बढ्नुभयो । सुरुआती दिनमा अनुभवको कमीका कारण धेरै बिरुवा मरे पनि केही बिरुवाले राम्रोसँग हुर्किएर फल दिए । तिनै बिरुवाले दिएको परिणामले उहाँलाई थप उत्साहित बनायो । त्यसपछि सिक्दै र अनुभव बटुल्दै उहाँले स्याउ खेती विस्तार गर्नुभयो । अहिले सयभन्दा बढी बिरुवामा ४ जातका स्याउले राम्रो उत्पादन दिएका छन् ।
सानो परीक्षणबाट ठूलो बगैंचासम्म फल लागेपछि थप बढ्यो उत्साह
लालबहादुरले सुरुमा ठूलो लगानी गरेर स्याउ खेती थाल्नुभएको थिएन । पहिले थोरै बिरुवा लगाएर यहाँको हावापानी र जमिनमा स्याउको अवस्था कस्तो हुन्छ भन्ने परीक्षण गर्नुभयो । सुरुआती चरणमा धेरै बिरुवा नबाँच्दा चुनौती पनि थपियो, तर बाँकी रहेका बिरुवाले राम्रो फल दिएपछि उहाँले खेती विस्तार गर्ने निर्णय गर्नुभयो । अहिले उहाँले ठूलो क्षेत्रफलमा स्याउ खेती विस्तार गर्नुभएको छ । आफ्नै अनुभव र निरन्तर सिकाइबाट उहाँले बिस्तारै बिरुवाको हेरचाह, काटछाँट र गोडमेलका काममा दक्षता हासिल गर्दै हुनुन्छ ।
स्याउ खेती सुरु गर्नुअघि लालबहादुरले कृषि विकास कार्यालय तथा स्थानीय तहको कृषि शाखामा पनि यसबारे जानकारी लिनुभएको थियो । क्याङको उचाइ, हावापानी र तापक्रमलाई लिएर स्याउ खेतीबारे स्पष्ट अनुभव र जानकारी सीमित रहेकाले सुरुमा यहाँ व्यावसायिक रूपमा स्याउ खेतीको अभ्यास धेरै नभएको उहाँ बताउनुहुन्छ । फल लागे पनि स्वाद कस्तो हुन्छ भन्नेबारे समेत जिज्ञासा थियो । तर आफ्नै बगैंचामा स्याउ फलाएर स्वाद चखाएपछि क्याङमा स्याउ खेतीको सम्भावनाबारे थप चासो बढेको उहाँको अनुभव छ । उहाँले फलाएको स्याउ स्वादिलो र गुलियो भएको बताउँदै लालबहादुर भन्नुहुन्छ ,“आफैंले परीक्षण गरेर अगाडि बढ्दा यहाँ पनि राम्रो स्याउ फलाउन सकिने रहेछ भन्ने विश्वास बढेको छ ।”
प्राविधिक सहयोगको अपेक्षा
आफ्नै प्रयास र अनलाइन माध्यमबाट सिकेर स्याउ खेतीमा सफलता हासिल गर्नुभएका लालबहादुरले अब प्राविधिक सहयोगको अपेक्षा गर्नुभएको छ । विशेषगरी बिरुवाको वैज्ञानिक काटछाँट, रोग तथा किराको पहिचान र नियन्त्रण, मलखाद व्यवस्थापन तथा उत्पादन बढाउने विषयमा कृषि प्राविधिकको नियमित सहयोग भए खेतीलाई अझ व्यवस्थित बनाउन सकिने उहाँको भनाइ छ । स्याउ खेती विस्तारसँगै अन्य कृषक पनि यसतर्फ आकर्षित हुन थालेकाले स्थानीय स्तरमै प्राविधिक ज्ञान र परामर्श उपलब्ध भए क्याङ तथा आसपासका क्षेत्रमा यसको व्यावसायिक विस्तारमा सहयोग पुग्ने उहाँको विश्वास छ ।
स्याउसँगै नर्सरी, चेरी र आरु
स्याउ खेतीमा सफलता पाएसँगै लालबहादुरले स्याउका बिरुवाको नर्सरी पनि तयार गर्नुभएको छ । बाहिरबाट एउटा स्याउको बिरुवा मगाउँदा करिब १ हजार एक सय ५० रुपैयाँसम्म पर्ने गरेको उहाँको भनाइ छ । त्यसैले आफ्नै क्षेत्रमा बिरुवा उत्पादन गर्न थाल्नुभएको उहाँले स्थानीय कृषकलाई करिब ४५० रुपैयाँमा बिरुवा उपलब्ध गराउनुभएको छ । उहाँको बगैंचामा स्याउसँगै चेरी र आरुका बिरुवा पनि छन् । अहिले गाउँका स्थानीयसँगै पर्वतका तारे, सालिजा, बनौँलगायतका स्थानबाट पनि स्याउका बिरुवाको माग आउन थालेको लालबहादुरको भनाई छ । यसले उहाँको व्यक्तिगत खेतीसँगै स्थानीय स्तरमै फलफूलका बिरुवा उत्पादन र व्यावसायिक विस्तारको सम्भावना पनि बढाएको छ ।
चासो लालबहादुरको सफलतापछि स्थानीयमा पनि
मोदी गाउँपालिकामा कार्यरत कृषि प्राविधिक सुस्मा सापकोटाका अनुसार लालबहादुरले सफल रूपमा स्याउ फलाएपछि स्थानीय कृषकमा पनि स्याउ खेतीप्रति चासो र आकर्षण बढ्दै गएको छ । कृषकले आवश्यक सहयोग मागेमा गाउँपालिकाको तर्फबाट प्राविधिक सहयोग उपलब्ध गराउन सकिने प्राविधिक सापकोटाको भनाइ छ । सापकोटाका अनुसार मोदी गाउँपालिकाको क्याङ तथा चित्रेको माथिल्लो बेल्टमा स्याउ खेतीको सम्भावना राम्रो देखिन्छ । लालबहादुरको सफल प्रयासले ती क्षेत्रको सम्भावनालाई थप उजागर गरेको र आगामी दिनमा अन्य कृषकले पनि परीक्षण तथा व्यावसायिक रूपमा खेती विस्तार गर्न सक्ने आधार बनेको उहाँको भनाइ छ ।
गण्डकी प्रदेशको पहाडी जिल्ला पर्वतमा सम्भावनाको नयाँ फल
लालबहादुरको कथा केवल स्याउका बोटमा फल लागेको कथा मात्र होइन । यो नयाँ कुरा सिक्ने इच्छा, निरन्तर प्रयास र गाउँमै सम्भावना खोज्ने एउटा उदाहरण पनि हो । स्याउ खेतीबारे खासै जानकारी नहुँदा पनि उहाँले थोरै बिरुवाबाट परीक्षण सुरु गर्नुभयो । सुरुआती असफलताबाट निराश नभई युट्युब र आफ्नै अनुभवबाट सिक्दै जानुभयो र आज सयभन्दा बढी बिरुवामा स्याउ फलाउन सफल हुनुभएको छ । एक समय भारतीय सेनाको जागिरपछि गाउँमा के गर्ने भन्ने अन्योलमा रहनुभएका लालबहादुर अहिले आफ्नै खेतबारीमा नयाँ सम्भावनाको खोजी छ । क्याङको बगैंचामा फलेका किङरोड, फुजी, गाला र गोल्डेन जातका स्याउले उहाँको मेहनतको परिणाम मात्र देखाएका छैनन्, पर्वतका उपयुक्त उच्च भूभागमा पनि स्याउ खेतीको सम्भावनाबारे नयाँ बहस र चासो जगाएको छ । आवश्यक प्राविधिक सहयोग, थप परीक्षण र व्यावसायिक योजना अघि बढेमा क्याङ र चित्रे, लेस्पार,तारे ,बनौँ ,सालिजा,जस्ता माथिल्ला क्षेत्र भविष्यमा फलफूल खेतीका लागि थप सम्भावनायुक्त क्षेत्र बन्न सक्ने अपेक्षा गरिएको छ ।

