पर्वत, २४ भदौ ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पर्वतले ९ लाख ६७ हजार ४ सय ४५ रुपैयाँ सहयोग गरेको छ।
पर्वतमा सञ्चालित २५ वटा निजी विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा विद्यालयको तर्फबाट उक्त रकम संकलन गरिएको प्याब्सन पर्वतले जनाएको छ। संकलित रकममध्ये शिक्षकको एक दिनको तलब, विद्यालयका तर्फबाट ५ हजारदेखि १० हजार रुपैयाँसम्म र विद्यार्थीबाट स्वेच्छिक रूपमा सहयोग जुटाइएको हो।
प्याब्सन पर्वतका अध्यक्ष विमल पौडेलका अनुसार संकलित रकम प्याब्सन केन्द्रीय समितिको राहत कोषमा जम्मा गरिएको छ। केन्द्रीय समितिले उक्त रकम संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरेको छ। विपत्तिको समयमा निजी विद्यालय क्षेत्रले पनि आफ्नो सामाजिक दायित्व निर्वाह गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको पौडेलले बताउनुभयो।
प्याब्सन पर्वतका अनुसार २५ वटा विद्यालयमध्ये सबैभन्दा बढी १ लाख १ सय ११ रुपैयाँ र सबैभन्दा कम ५ हजार रुपैयाँ सहयोग संकलन भएको छ। तीमध्ये शहीद स्मारक बोर्डिङ स्कुल, इर्मोटल सेक्रेट बोर्डिङ स्कुल र पर्वत बोर्डिङ स्कुलले गरी १ लाख ४९ हजार ३ सय ७२ रुपैयाँ यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेका थिए।
बाँकी २२ वटा विद्यालयबाट संकलित रकम भने प्याब्सन केन्द्रीय समितिको राहत कोषमार्फत सरकारलाई उपलब्ध गराउने गरी पठाइएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो। शिक्षक, विद्यार्थी तथा कर्मचारीबाट स्वस्फूर्त रूपमा सहयोग प्राप्त भएको र मानवीय सेवाका लागि सबैको सहभागिता उत्साहजनक रहेको उहाँको भनाइ छ।
पर्वतका निजी विद्यालयमा ३ सयभन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन् भने ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। महाशिला गाउँपालिकाबाहेक जिल्लाका ६ वटा स्थानीय तहमा निजी विद्यालय सञ्चालनमा रहेका छन्।
यसअघि पर्वतका सात स्थानीय तह, जिल्ला समन्वय समिति, विभिन्न व्यक्ति, संघसंस्था तथा समूहबाट समेत झण्डै एक करोड रुपैयाँको हाराहारीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको थियो। इतिहासमै सबैभन्दा ठूलो बाढीको महाविपत्तिका रूपमा लिइएको भोटेकोशी बाढीपछि पर्वतबाट नागरिकस्तरमा सरकारलाई खुलेर आर्थिक सहयोग जुटेको सामाजिक अभियन्ताहरूले बताएका छन्।
