कालीगण्डकीको भीषण बाढीले पर्वतमा ठूलो क्षति, २५ घर बगे

 

 असोज ११ पर्वत —
कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले जलजला गाउँपालिका–८, फर्सेमा करिब २५ घर बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फर्सेमा करिब ८० घर रहेकोमा कालीगण्डकीको बहाव बस्तीमा पसेपछि २५ घर बगेका हुन् , बाँकी घरहरू पनि जोखिममा रहेका छन् ।
बाढीको जोखिम बढेपछि फर्सेका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख बिजय यादवले जानाकारी दिनुभएको छ । हालसम्म मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको बताइएको छ । पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न नसकेको जनाइएको छ । फर्से प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, कालीगण्डकी नदीमा आएको बाढीका कारण दक्षिण पर्वतको सेतीबेनी बजारसमेत डुबानमा परेको छ । बाढीले बजारका घर तथा भौतिक संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन्। बाढीका कारण बजार क्षेत्रको अवस्था थप जोखिमपूर्ण बनेको जनाइएको छ ।
यस्तै, कालीगण्डकीको बाढीले पर्वतका अन्य नदी तटीय क्षेत्र तथा सडक संरचनामा समेत क्षति पुगेको प्रारम्भिक विवरणहरू आएका छन् । सहस्रधारालगायतका क्षेत्रमा मध्यपहाडी लोकमार्गमा क्षति पुगेको र कुश्मा–बागलुङ सडक सम्पर्क प्रभावित भएको बताइएको छ ।
बाढीका कारण कालीगण्डकी तटीय क्षेत्रमा जोखिम बढेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानाकारी दिनुभयो । उद्धार, राहत तथा क्षतिको थप विवरण सम्बन्धित निकायबाट संकलन भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज