असोज,१३ पर्वत
कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतका तटीय बस्तीमा ठूलो क्षति पुर्याएको केही दिन नबित्दै जिल्लाका विभिन्न ठाउँमा सुख्खा पहिरोले थप पीडा थपेको छ । प्राकृतिक विपत्तिको दोहोरो मारमा परेका स्थानीयको जनजीवन अहिले अस्तव्यस्त बनेको छ ।
असोज १० गते राति कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८, फर्से क्षेत्रमा मात्रै ठूलो भौतिक क्षति र्पुयाएको प्रारम्भिक तथ्याङ्क छ । बाढीबाट जिल्लाको फर्सेमा मात्र ८७ घर पूर्ण रूपमा क्षति र ३० घर आंशिक रूपमा क्षति भएको विवरण प्राप्त भएको छ । जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार फर्से क्षेत्रमा मात्रै करोडौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि पर्वतका संघीय सांसद सागर भुसालले प्रभावित परिवारको तत्कालीन तथा दीर्घकालीन आवास व्यवस्थापनका विषयमा चासो व्यक्त गर्नुभएको छ । उहाँले अहिले अस्थायी रूपमा सुरक्षित स्थानमा राख्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा स्थानीयतह र सरकारसँग छलफल गरेर यस विपत्तिको सामना गर्ने बताउनुभएको छ ।
जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिबिकास जिसीका अनुसार बाढीपीडितलाई अहिले टेन्टमा राखिएको छ । यसअघि आफन्तको घरमा खानाको व्यवस्था हुँदै आए पनि अबदेखि प्रभावितका लागि सामूहिक मेस सञ्चालन गरी भोजनको व्यवस्था गरिने भएको छ । विस्थापित परिवारमा साना बालबालिकादेखि वृद्धवृद्धासम्म रहेकाले उनीहरूको दैनिक जीवन सहज बनाउन थप सहयोग आवश्यक देखिएको छ ।
बाढीले सडक पूर्वाधारमा समेत ठूलो क्षति र्पुयाएको छ । पर्वतलाई बागलुङ हुँदै म्याग्दी, मुस्ताङलगायतका जिल्लासँग जोड्ने मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन् । मालढुङ्गाको पुलसमेत भत्किएपछि यातायात सम्पर्क प्रभावित भएको छ । ठाउँ–ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा आवतजावत कठिन बनेको छ ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीका अनुसार सडक तत्काल खुलाउन केही समय लाग्ने देखिएको छ । बाढीबाट क्षतिग्रस्त पुल निर्माणका लागि आवश्यक एक्जाभेटर तथा अन्य सामग्री तत्काल प्रभावित स्थानसम्म पुर्याउनसमेत कठिनाइ भएको उहाँको भनाइ छ । दुवैतर्फको सडक अवरुद्ध भएकाले तारजालीलगायत निर्माण सामग्री लैजान समस्या भएको उहाँले बताउनुभएको छ ।
बाढीको घाउ सुक्न नपाउँदै सुख्खा पहिरो
बाढीको पीडाबाट प्रभावित परिवार सुरक्षित ठाउँको खोजीमा रहेका बेला जलजला गाउँपालिका–७ लामाबगरमा आज बिहानै सुख्खा पहिरो खसेपछि अर्कोे विपत्ति थपिएको छ ।
बिहान करिब ५ः३० बजे ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा स्थानीय आत्माराम आचार्यको घर पूर्ण रूपमा पुरिएको छ । पहिरोमा परी घरभित्र रहेका करिब ६५ वर्षीय आचार्य घाइते हुनुभएको छ ।
प्रहरी चौकी मिलनचोक र वारीबेनीबाट खटिएको प्रहरी टोलीले आचार्यलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनी, म्याग्दी पठाएको छ । उहाँको टाउको तथा दाहिने आँखामाथि चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घरमा रहेका अन्य तीन महिला भने सकुशल रहेका छन् ।
पहिरोले आचार्यको घरनजिकै रहेको गोठसमेत पुरेको छ । गोठमा रहेका दुई भैंसी र दुई पाडो पुरिएका छन् । स्थानीय मञ्जुला आचार्यका दुईवटा कच्ची घरसमेत पहिरोमा पुरिएका छन् ।
थप उद्धार तथा क्षतिको विवरण संकलनका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ ।
कालीगण्डकीको बाढीले बस्ती डुबायो, सडक र पुल भत्कायो । त्यसको पीडा कम हुन नपाउँदै सुख्खा पहिरोले घर पुरेको छ, पशुचौपाया गुमे र परिवार विस्थापित भए । पर्वतमा पछिल्ला घटनाले प्राकृतिक विपत्तिको जोखिम केवल नदी किनारमा मात्र नभई पहाडी बस्ती र सडक सञ्जालसम्म फैलिएको देखाएको छ । केहिदिनको अविरल झरीका कारण जमिन कमजोर भएको हुनाले पिहिरो गएको हुन सक्ने आशंका गरिएको छ । अहिले प्रभावित परिवारका लागि तत्काल सुरक्षित आवास, खाद्यान्न र उपचारको व्यवस्था गर्दै दीर्घकालीन पुनःस्थापनाको योजना अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ । पर्वतको सेतिबेणीमा भने अझैसम्म पनि कुनै पनि निकायको सहयोग नपाएको गुनासो स्थानियले गरेका छन् । 
