चोकको नाममा विवाद हुँदा झडपः प्रहरीद्वारा हवाई फायर

हाम्राेप्रयास । रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर १ र ७ को बीचमा रहेको चोकको नाम राख्ने विषयमा दुई वडाका युवाहरुबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गर्नुका साथै एक सेल अश्रुग्यास पनि प्रहार गर्नुपरेको छ । घटनामा एक दर्जनभन्दा घाइते रहेका छन् ।

विगत १० वर्षदेखि मनहरा र परसवा गाउँको बीचमा रहेको चोकलाई परसवा चोक भनिँदै आएको छ । प्रायः हरेक दसैँमा यस चोकको नामलाई लिएर विवाद सिर्जना हुने गरेको छ । मनरहवा गाउँका मानिसहरुले चोकको नाम मनरहवा चोक राख्नुपर्ने बताउँदै आएका छन् । केही दिन अघि परसवा चोकको बोर्ड भत्काएर मनरहवा चोकको बोर्ड राखिएको थियो । तर, सो बोर्डमा कालो पोतिएपछि विवादले झडपको रुपमा लिएको हो ।

गुजरा नगरपालिका मेयर सन्तलाल चौधरीले यो विवादलाई दसैँपछि बसेर छलफल गरेर टुङ्ग्याउने प्रतिबद्धता जनाएका थिए  । तर, आज एकाएक ११ बजे दुवै गाउँका युवाहरुबीच झडप भएको थियो । इलका प्रहरी कार्यालय चन्द्रनिगाहपरका प्रमुख डिएसपी हेमबहादुर शाही र सो क्षेत्रमा रहेका प्रहरीहरु गएर स्थिति नियन्त्रणमा लिएका थिए । रौतहटका प्रहरी प्रमुख एसपी सिद्धविक्रम शाहले डिएसपी शाहीले दुवै गाउँका प्रतिनिधिलाई राखेर मध्यस्तताको प्रयास गरिरहेको जानकारी दिए ।

झडपको स्थिति निम्त्याउनुमा वडा १ का अध्यक्ष राजकिशोर वण्ठा र ७ का अध्यक्ष मोफिल चौधरी जिम्मेवार रहेको स्थानीयको आरोप छ । हालसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज