काठमाडौँ —
सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै (शनिबार बाहेक) सेयर कारोबार हुने भएको छ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रबार सेयर कारोबार खुला गरेर आइतबार बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेर आउँदो असार १ देखि पुरानै अवस्था अर्थात शनिबार मात्र सार्वजनिक बिदा कायम गरेको छ । यो निर्णयसँगै असार पहिलो सातादेखि लागू हुनेगरी आइतबार पनि सेयर कारोबार खुला गर्ने तयारी नेप्सेले गरेको हो । ‘आइतबार सेयर बजार खुला गर्दा हाल भइरहेको शुक्रबारको कारोबारलाई पनि निरन्तरता दिने तयारी भएको छ,’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले भने, ‘अन्तिम निर्णय भइसकेको छैन । तर सातामा ६ दिन सेयर कारोबार खुला राख्नका लागि आन्तरिक छलफल र तयारी गरिरहेका छौं । सम्भवतः असार १ देखि नै उक्त व्यवस्था लागू हुनेछ ।’
सरकारले आइतबार सार्वजनिक बिदा गरेपछि शुक्रबारको कार्यालय समय बढाएर पूरा दिन बनाइएको थियो । असार देखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएपछि शुक्रबार कार्यालय समय आधा दिन मात्र कायम हुनेछ । यसकारण आइतबारदेखि बिहीबारसम्म चार घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार साढे २ घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म सेयर कारोबार खोल्ने तयारी भएको नेप्से स्रोतले जनाएको छ । kantipur