किसानले हिउँदे बालीको लागि पनि मल नपाउने, बंगलादेशसँग सापट मागिएको मलको सम्झौता अझै भएन

कृषि प्रधान हाम्रो देशमा किसानले मल अभावमा बाली लगाउनु किसानको नियतीनै बनिसकेको छ । मुख्य बाली धान लगाउने समयमा पनि रसायनिक मल नपाएर मल बिनानै बाली लगाएका किसानले हिउँदे बालीको लागि पनि मल नपाउने भएका छन् । ठेक्का सम्झौता अनुसार निजी क्षेत्रले मल नल्याएपछि सरकार आँफै मल ल्याउन लागि परे पनि सरकारी संयन्त्रको ढिला सुस्तीको कारण रसायनिक मल अझै आउन सकेको छैन । जसको कारण किसानले हिउँदे बालीको लागि पनि मल नपाउने भएका हुन ।

दुईवटा ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले युरिया मलका २ वटा ठेक्का अलपत्र पारेपछि किसानलाई हिउँदेबाली लगाउँदा जुनसुकै हालतमा मल उपलब्ध गराउन भन्दै सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल सापट माग्ने निर्णय गरेको थियो। गत भदौ १५ गते सरकारले बंगलादेशसँग सो परिमाणको मल सापट माग्ने निर्णय गरेको थियो। तर २ महिना बितिसक्दा पनि दुई देशबीच सम्झौता हुन सकेको छैन।

सापटमा मल ल्याउने भनेर कृषि सामग्री कम्पनी लिमिटेडमार्फत ढुवानीका लागि ठेक्कापट्टा भइसकेको छ। एलसीसमेत खोलिसकेको छ। तर दुई देशबीच मल सापट लिने–दिने सम्झौता भने हुन बाँकी देखिएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा हरि बहादुर केसीका अनुसार दुई देशबीच सम्झौता गर्ने काम अझै प्रक्रियामै रहेको छ। ‘बंगलादेश पक्षबाटै केही ढिलो हुन पुग्यो। सम्झौता हुन बाँकी छ, हामी प्रक्रियामै छौं’, प्रवक्ता केसीले भने, ‘एमओयुमा हस्ताक्षर गर्नका लागि बंगलादेशले एउटा मस्यौदा पठाएको थियो। हामीले त्यसमा केही संशोधन गरेर पठायौं। उनीहरुले फेरि त्यसमा केही संशोधन गरेर पठाएको छ। अब हामी अर्थ र कानुन मन्त्रालयको सहमति लिएर त्यसलाई पठाउने क्रममा छौं।’

बंगलादेशसँग एमओयु हुन बाँकी रहे पनि यता कृषि सामग्री कम्पनी लिमिटेडले भने ढुवानीका लागि ठेक्का पट्टा र एलसी लगायतका काम सकिसकेको छ। ‘जिटुजी हुनपर्ने सम्झौता लगायत केही काम बाँकी छ। मल लिने–दिने कुरामा बंगलादेश र नेपाल सरकारबीच सम्झौता हुन बाँकी छ। त्यो सम्झौता हुने बित्तिकै ढुवानीको जिम्मा पाएको कम्पनीले मल ल्याउन सुरु गर्छ’, कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले नेपाल लाइभसँग भने, ‘हामीले ठेक्कापट्टाको प्रक्रिया सुरु गरेर एलसी पनि खोल्यौं। सामान प्राप्त हुनासाथ हामी ल्याउनलाई तयारी अवस्थामा छौं।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज