पर्वत —
असोज १० गते कालीगण्डकीमा आएको बाढीबाट प्रभावित जलजला गाउँपालिका–८, फर्सेका बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको छ। बाढीबाट ६६ भन्दा बढी घर प्रभावित भएको क्षेत्रमा मंगलबार राहत सामग्री हस्तान्तरण गरिएको हो।
लायन्स क्लब अफ शिवालय कुश्मा पर्वतको आयोजनामा जर्मनीकी दाता Katharina Boiger को सहयोगमा करिब ४ लाख रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न तथा लत्ताकपडा ५१ बाढीपीडित परिवारलाई वितरण गरिएको राहत वितरणका संयोजक गोविन्द पहाडीले जानकारी दिनुभयो।
राहत वितरण कार्यक्रममा लायन्स क्लब अफ शिवालयका अध्यक्ष दीपक शर्मा, रिजन चेयरपर्सन थानेश्वर पौडेल, लायन लिडर मिनराज काफ्ले, बसन्त कर्माचार्य तथा पूर्वअध्यक्षहरू विषमकुमार श्रेष्ठ, कमलनाथ शर्मा र कमलनाथ पोखरेल लगायतको सहभागिता थियो। राहत सामग्री बाढी प्रभावित क्षेत्रमै पुगेर हस्तान्तरण गरिएको हो।

