प्रधानसेनापती पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका भारतिय स्थल सेनाका सेनाध्यक्ष मनोज मुमुन्द नरभणेलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतका सेनाध्यक्षहरु एक अर्का मुलुकको सेनाको पनि मानार्थ सेनापति रहने परम्परा छ ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट गर्नेछन् । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणे १८औँ सेनापति हुन् ।
बुधबार काठमाडौँ आइपुगेका नरवणेले भ्रमणको पहिलो दिन वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघर लगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गरेका छन् ।
श्रीमतीसँगै नेपाल आएका नरवणेले बुधबार साँझ पशुपति क्षेत्र गई कोभिड –१९ का कारण वाग्मती नदीपारिबाट पशुपतिनाथ मन्दिर दर्शनका साथै वाग्मती किनारको साँझको आरती अवलोकन गरेका थिए ।
नेपाली सेनाले स्थलसेनाध्यक्ष नरवणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका भूभाग भारतले राजनीतिक नक्शामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन उनको यहाँ हुने भेटघाट महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।
स्थलसेनाध्यक्ष नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गीअड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
आजै प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन् । सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित १३औँ बैठकमा भएको सहमति अनुरुप स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ । उनको सम्मानमा बिहीबार नै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थलसेनाध्यक्ष नरवणेले शुक्रबार औपचारिक भेट गर्ने कार्यक्रम रहेको छ । जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।