हाम्राे प्रयास ।पछिल्लो समय विभिन्न जिल्लामा नेकपाका फरक फरक गुटबीच बढ्दे असन्तुष्टि र झडपका समाचार बाहिर आइरहेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको पछिल्लो विवाद अब तत्काल मत्थर हुने संकेत देखिँदैन ।
यसको सुरुवात भएको थियो, कर्णाली प्रदेशबाट । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले अब कुन रुप लिन्छ भन्ने हेर्न बाँकी नै छ । यो विवाद सेलाउन नपाउँदै बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणिविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी नेकपाका केही नेताहरुले गरेका छन् ।
मुख्यमन्त्री पौडेल कोरोनाभाइरस कोभिड–१९संक्रमण भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । यहीबीच उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको स्रोतको दाबी छ ।
नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच देखिएको मतभेद तथा असन्तुष्टिबीच प्रदेशमा पनि नयाँ गठबन्धन बनेको हो । यसमा प्रचण्ड पक्षधरलाई नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले सहयोग गरेका छन् । प्रचण्ड र नेपाल पक्षका सांसद मिलेपछि बागमतीमा सहजै पौडेललाई हटाउन सकिने भन्दै उनीहरुले हस्ताक्षरसमेत सुरु गरेको स्रोतको दाबी छ ।