हाम्राे प्रयास ।साउदी सरकारले थप ३७ जना अवैधानिक नेपाली कामदारलाई एक्जिट भिसा बहिर्गमन भिसाको अवसर दिएको छ । यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार १३१ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । भिसा प्राप्त गरेका १ हजार ९४ जनाको सूचि दूतावासले यसअघि नै सार्वजानिक गरिसकेको थियो ।
परिचयपत्र जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि यस्तो अवसरको व्यवस्था गरिएको दूतावासले जनाएको छ । बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाएका श्रमिकको विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि साउदी सरकारलाई अनुरोध गरेको थियो ।
यस भिसाका लागि दूतावासमा झुठो विवरण दिएर बहिर्गमन भिसाका लागि पेश गरेमा र दूतावासको सिफारिस अनुसार बहिर्गमन भिसा लागेमा यसबाट सिर्जना हुने समस्याका लागि सम्बन्धित व्यक्ति स्वयम नै जिम्मेवार हुनुपर्ने दूतावासले जनाएको छ ।
बहिर्गमन भिसा लागेकाले भने स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ ।
दूतावासकाअनुसार साउदी सरकार, श्रम तथा सामाजिक विकास मन्त्रालयले १ महिना भन्दा वढी अवधि अकामा नवीकरण नभए, नयाँको हकमा ४ महिना भन्दा वढी अवधि अकामा जारी नभएको तथा कम्पनी छोडी भागेर कालोसूचीमा परेका तर कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवाना नपरेका कामदारका लागि बहिर्गमन भिसा जारी गर्ने व्यवस्था मिलाएको हो।