बाँदर बैरी हुँदा किसानको खेत बाँझै

संगिता लामिछाने/पर्वत

कुश्मा नगरपालिका–११ को पकुवा फाँटमा मंशिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो । यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुने पकुवाका किसान यतिबेला फुर्सदिला छन् । कारण हो बाँदर । बाँदर आतंक बढ्दै गएपछि पकुवा फाँटमा लगाइने आलु खेती लगाउन पनि किसानले छाडेका छन् ।

उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोडेका छन । धान खेती थन्क्याउन जेनतेन सके पनि हिउँदे खेती जोगाउँनै मुस्किल भएको पकुवाका प्रमे पौडेल बताउनुहुन्छ । केही वर्ष अघि पकुवामा बाँदर देख्न नै मुस्किल हुन्थ्यो । तर, अहिले त घरमा राखेका खानेकुरा जोगाउँन पनि समस्या भएको उहाँको गुनासो छ ।

पकुवामा मात्र होइन् फलेवास–४ का रामप्रसाद गौंडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हूल बाँदर पसेर सर्वनाश पारिदियो । बिहादी गाउँपालिका–३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलु खेती गर्दै आए पनि बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो ३ वर्षयता आलु रोप्नै छोडिदिनुभयो ।बाँदर बालीमा पल्के पछि सखाप नपारेसम्म आइरहने उनीहरुको गुनासो छ ।

अहिले जिल्लाभर बाँदरको हैरानी छ । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्नुपरेको छ । बाँदर आतंक किसानका लागि टाउको दुखाइको विषय बनेको छ । बाँदर धपाउन समूह बनाएर बस्दा पनि समाधान नभएको स्थानीय गुनासो गर्छन ।

पर्वतमा आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायत वडामा आलु खेतीमा पनि बाँदर मुख्य समस्या रहेको भन्दै किसान चिन्तित छन । बाँदरले अहिले आलु मात्र नभएर हरेक बालीमा क्षती पु¥याएको किसानको गुनासो छ ।

उच्च पहाडी भेगमा पर्ने ती गाउँको मुख्य बाली आलु खेती हो । हिउँदे खेतीका लागि उपयुक्त मानिने कुश्मा र फलेवास नगरपालिकामा पनि बाँदरको बदमासीले किसानले लगाएको कुनै पनि हिउँदे खेती स्याहार्न नपाएको किसानको गुनासो छ । दशकअघिसम्म पर्वतबाट अन्य जिल्लामा गहुँ र गहुँको बीउसमेत निर्यात हुने गरेकोमा पछिल्ला वर्षमा गहुँ र गहुँको पिठो तराईका विभिन्न उद्योगको भर पर्नुपरेको सरकारी अधिकारी बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज