निर्वाचन आयोगले निर्वाचन आचारसंहिता भोलिदेखि लागू नरहने निर्णय गरेको छ । आयोगका अनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो ।
उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ । मंशिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना सकिएको छ ।
आयोगले प्रत्यक्ष तर्फ निर्वाचित सदस्यहरुको विवरण सार्वजनिक गरेपनि समानुपातिक तर्फको अन्तिम सूची आइसकेको छैन् । समानुपातिक तर्फ दलहरुले प्राप्त सिटको बाँडफाड गरी दलहरुलाई पत्र पठाएपछि शनिबार दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवारको नामावली पठाएको छ । आयागले त्यसमाथि छानबीन गरेर भोलि अन्तिम सूची राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।