पर्वत,२७
बुधबार दिउँसो देखि निरन्तर भएको बर्षातले पर्वतका विभिन्न ठाउँमा ठूलो मात्रामा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अबिरल बर्षातका कारण कुश्मा २ सहस्रधारा भन्ने ठाउँमा गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।
लगातारको बर्षा र रातको समयमा आएको पहिरोका कारण सोहि ठाउँमा सञ्चालन हुँदै आएको एक रेष्टुरेन्ट समेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मध्यरातमा आएको पहिरोले कालीगण्डकी रिभर रेष्टुरेन्ट पहिरोले पुरेको हो ।
पहिरोको कारण अवरुद्ध उक्त स्थानको सडक खुलाउने प्रयास भईरहेको प्रहरीको भनाई छ । यस अघि तमादीखोला र ओढारे क्षेत्रमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग भने सञ्चालनमा आएको छ । त्यस स्थानमा लेदो र गेगर बगिरहेको हुनाले सडक खुलाउन समेत सास्ती भैरहेको छ ।
उता कालीगण्डकी लोकमार्ग अन्तर्गतको मालढुंगा वेनी सडक पनि राती देखी नै अबरुद्ध बनेको छ ।
बर्षातका कारण मोदी २ देउपुरमा ४ वटा घरहरु पुरिएको विवरण प्राप्त भएको प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै कुश्मा १० पिपलटारीमा समेत एक घर पुरिएको जानकारी आएको र घटनास्थलमा प्रहरी पुग्दै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राती नै कुस्मा नगरपालिका ११ पकुवामा घरगोठ पहिरोले लादा मानिसलाई जोगाउन सफल भए पनि भैंसी र पाडो भने पहिरोले लगेको स्थानीय मनोज पौडेलले जानकारी दिनुभयो ।
पर्वतमा पछिल्लो समय प्रहरीले दिएको जानकारी अनुसार पहिरोका कारण मानवीय क्षति भने भएको छैन।
