अविरल वर्षाले पर्वतका विभिन्न स्थानमा क्षति, सडक अवरुद्ध र बस्ती जोखिममा

 

असोज १०

पर्वतमा अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो, सडक अवरोध तथा घर र विद्यालयमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार असोज १० गते फलेवास नगरपालिका–८ ओख्रेनीस्थित ओख्रेनी–भंगरा भित्री सडक पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ।

जलजला गाउँपालिका–७ केराबारी (लस्ती)स्थित मालढुंगा–बेनी सडकखण्डमा लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरो झरिरहेकाले तत्काल सडक खुलाउन कठिन रहेको प्रहरीले जनाएको छ। यस्तै, जलजला–५ धौलापहाडस्थित धौला प्राथमिक विद्यालयको एकतले कच्ची भवनको गारो भत्किँदा भवन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सोही वडाको रातामाटामा पहिरोले देकबहादुर सार्कीको घरका दुई कोठा पूर्णरूपमा क्षति हुनुका साथै कबिता सार्कीको घरको अगाडिको पाली भत्किएको छ।

जलजला–८ नाग्लीवाङमा दलबहादुर दमाईको घरअगाडिको पिँढी भासिएपछि घर जोखिममा परेको छ भने जलजला–७ धाइरिङमा तुल्सीदेवी आचार्यको कच्ची घर तथा धनसार जोखिममा परेपछि परिवारलाई छिमेकीको घरमा सारिएको प्रहरीले जनाएको छ। जलजला–४ मा किसान विकको कच्ची घर पहिरोका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको छ। यी घटनामा मानवीय तथा पशुचौपायाको क्षति नभएको प्रहरीले जनाएको छ।

यसैबीच, फलेवास नगरपालिका–५ टुटुङ्गास्थित डुन्डुरेखोलामा पानीको बहाव बढेर माटो तथा गेगर थुप्रिँदा खोला थुनिएपछि फलेवास–६ रालेबजार क्षेत्र जोखिममा परेको थियो। प्रहरीले स्थानीयलाई सुरक्षित स्थानमा जान सूचना गरेकोमा दिउँसो करिब १ बजे जेसीबीको सहायताले खोला खुलाइएको र कुनै क्षति नभएको जनाएको छ।

वर्षाजन्य विपद्का घटनापछि प्रहरी टोलीहरू घटनास्थलमा परिचालन भई स्थानीय जनप्रतिनिधि तथा बासिन्दासँग समन्वय गर्दै उद्धार, जोखिम न्यूनीकरण र सडक खुलाउने प्रयासमा जुटेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज