काठमाडौं
नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ ।
असारको ५ गते अर्थात आज आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो । बैठकमा हो–हल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको अनेरास्ववियु क्रान्तिकारी का महासचिव दिपेश पुनले जानाकारी दिएका छन् ।
‘उहाले आफ्नो समूहका केहीलाई पदाधिकारी बनाउन माग गर्नुभएको थियो । तर हलले मान्ने अवस्था रहेन ,’ पुनले भने,’धेरै नै हल्ला र अराजकता देखाउन खोजेपछि प्रहरीले शान्त पारेको हो । अहिले फेरि बैठक सुरू हुन लागेको छ ।’
कार्कीसहित केही नेताहरू भने बैठकमा आएका छैनन् ।उपाध्यक्ष कार्कीले भने अवैधानिक तरिकाले चयन भएको पदाधिकारी खारेज गर्नुपर्ने माग आफूहरूले राखेको बताए ।’जुमबाट पदाधिकारी चयन भएको भनेर हामीले त पहिला पनि विरोध गरेको हो । हामीले त्यसलाई अवैधानिक निर्णय भनेको हो । वैशाख ५ को त्यो निर्णय खारेजी गर्नुपर्छ भनेको हो,’ कार्कीले भने,’पार्टी अध्यक्षले समेत सच्याउँछौं भन्नुभएको थियो । उहाँहरू जबरजस्ती अगाडि बड्न खोजेपछि अवैधानिक कमिटी सच्याउन पर्यो भन्दै नाराबाजी गरेका हौं । त्यसपछि झडप भयो अनि प्रहरीले हस्तक्षेप गरेको हो ।’
सेतोपाटीबाट