पर्वतमा शिविर चलाएर माटोको उपचार

माटो अस्वस्थ हुँदा उत्पादनमा ह्रास आएको भन्दै कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले माटो परीक्षण अभियानलाई जोड दिएको छ। कार्यालयमा नै राखिएको ‘मिनी ल्याब’ मा कृषक नआएपछि शिविर सञ्चालन गरी माटो परीक्षण र उपचार गरिरहेको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन्।

केही समयअघि मोदी गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरेको कार्यालयले विश्व माटो दिवसको अवसर पारेर सोमबार पैयुँ गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गर्‍यो। शिविरमा गाउँपालिकाका सात वडाका १०२ नमुना परीक्षण गरिएको छ। परीक्षणका क्रममा माटोको ‘पीएच’ मान, नाइट्रोजन, फस्फोरस र पोटासको अवस्था जाँच गरिएको थियो। ‘कीट बक्स’ विधिबाट गरिएको परीक्षणबाट पीएच मानको आधारमा कृषि चुनको प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ।

२५ प्रतिशत नमुनामा अम्लीयपन, ७५ प्रतिशतमा तटस्थ, ९५ प्रतिशतमा नाइट्रोजनको मात्रा कम रहेको तथा ८० प्रतिशत नमुनामा फस्फोरसको मात्रा कम रहेको पाइएको छ। नतिजाको आधारमा विभिन्न बालीमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा सिफारिस गरिएको छ। सिफारिस गरिए अनुसार कृषकले कृषि चुन र मलखादको सन्तुलित प्रयोग गरे माटोको अवस्थामा सुधार आउने अधिकृत थापाको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज