भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिन प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री शेरवहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आग्रह गर्नुभएको छ । काठमाडौमा आईतबार आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले संघीयताको सफल कार्यान्वयनको लागि तीनै तहको सरकार एकजुट हुनुपर्ने बताउनुभएको हो ।

उहाँले संघ,प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको उल्लेख गर्दै अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सवलीकरण हुने गरी कानुन निर्माण गर्न ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले जनसेवाको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्न र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएर अघि बढ्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकमा विद्यमान गरिवी,बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कुरीतिहरुको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्न सक्ने गरी स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य अनुरुप अघि बढ्नेगरी योजना तर्जुमा गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको प्रतिष्ठालाई अघि बढाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नेगरी काम गरिरहेको भन्दै गाउँपालिका राष्ट्रिय महासंघ नेपाललाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज