पूर्णेश्वर भूपू समाजद्वारा संचालित एक महिने कम्प्युटर तालिम समापन

पर्वत,६ ।

शैक्षिक तथा सामाजिक क्षेत्रमा क्रियाशील पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्वारा संचालित कम्प्युटर तालिमको मंगलबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।
पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. १० मा रहेका सबै सार्वजनिक विद्यालय र कुश्मा ९ मा रहेको गायत्री प्राविका शिक्षक स्टाफहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो तालिम संचालन गरिएको थियो ।
कुश्मा १० मा रहेका ६ वटा सामुदायिक विद्यालय मध्ये जनक मावि, लाँकुरी प्रावि, पिपलटारी प्रावि र धौलागिरी वाल विकास केन्द्रका शिक्षक स्टाफहरुलाई जनक माविमा तालिम संचालन गरिएको थियो भने पूर्णेश्वर मावि, सिद्धेश्वर प्रावि र गायत्री प्राविका शिक्षक स्टाफहरुलाई पूर्णेश्वर माविमा तालिम सहजीकरण गरिएको थियो ।
तालिम जनक माविमा जेठ ७ गतेदेखि २१ गतेसम्म र पूर्णेश्वर माविमा जेठ २२ गतेदेखि असार ५ गतेसम्म संचालन गरिएको हो ।
समाजले सार्वजनिक शिक्षा सुधारका लागि वडा, नगर तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आइरहेको छ । समाज र वडाको सहकार्यमा स्थानीयबासीबाट आएका रायका आधारमा वडा नं. १० मा सार्वजनिक शिक्षा सुधारका लागि योजना समेत निर्माण गरिएको छ ।
सोही योजना अनुसार भूपू समाजले तालिमको आयोजना गरेको समाजले जनाएको हो ।
पूर्णेश्वर भूपू विद्यार्थी समाजले सार्वजनिक शिक्षा सुधारका लागि गत चैत्र १५ गते एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो भने सोही भेलाबाट बनेको कार्यदलले चैत्र २५ र जेठ २ गते गृहकार्य गरी वडाको शैक्षिक कार्ययोजना निर्माण गरेको थियो ।
यस अघि मंगलबार बेलुका ४ बजे पुर्णेश्वर माविमा भएको समापन कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले भूपू समाजले गरेका शैशिक तथा सामाजिक कार्यको खुलेर प्रशंसा गरे । उनीहरुले समाजले शैक्षिक र सामाजिक क्षेत्रमा गरेको योगदान अतुलीय रहेको भन्दै भोलिका दिनमा पनि यस्तै रचनात्मक र सिर्जनशील काम गर्न सुझाव दिए ।
संस्थाका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा समाजका सल्लाहकार तथा तत्कालीन पिपलटारीका गाविस अध्यक्ष शान्त पौडेल, वडा नं. १० का निवर्तमान वडा अध्यक्ष सुजन विक, निवर्तमान कार्यपालिका सदस्य तथा सिद्धेश्वर प्राविका विव्यस अध्यक्ष देवेन्द्र बहादुर नेपाली, जनप्रतिनिधि फणिन्द्र पौडेल, पूर्णेश्वर माविका प्रअ नारायणप्रसाद अर्याल, जनक माविका प्रअ टेकनाथ अधिकारी, वडा सचिव नारायण लामिछाने, नेकपा एमाले कुश्मा १० का अध्यक्ष रामचन्द्र सुवेदी, माओवादी केन्द्र कुश्मा १० का अध्यक्ष कृष्णप्रसाद सुवेदी (राजु), समाजका सहसचिव तथा प्रशिक्षक दामोदर पौडेल, जनक माविका शिक्षक भिमराज सापकोटा, लाँकुरी प्राविका शिक्षक तिलोचन सुवेदी, गायत्री प्राविका प्रअ दिवाकर पौडेल लगायत बोलेका थिए भने कार्यक्रम कार्यक्रमको स्वागत कोषाध्यक्ष शर्मिला तिवारीले र संचालन सचिव सन्तोष पौडेलले गरेका थिए ।
समाजले विभिन्न समयमा विद्यार्थीहरुलाई स्कूल व्याग लगायत शैैक्षिक सामग्री वितरण, समुदायमा ह्वीलचियर वितरण, विद्यालय र समुदायमा विभिन्न चरणमा रक्त समूह पहिचान, विद्यालयहरुमा भेण्डिङ मेसिन वितरण, अक्षयकोष स्थापना, छात्रवृत्ति वितरण, मृगौला पीडितलाई आर्थिक सहयोग संकलन तथा वितरण, स्थानीय क्लवहरुलाई सहयोग, शैक्षिक सुधारका लागि समय–समयमा विभिन्न अभियान, समाजको पहलमा कुश्मा १०का सबै विद्यालय र कार्यालयहरुमा समय सूचक वितरण, वडाको सहयकार्यमा महिलाको क्षमता अभिवृद्धि तालिम र कम्प्युटर तालिम लगायतका कार्यहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज