काठमाडौं, साउन ३१ –

पर्वत जिल्लाबाट जन्मिएर देश तथा विदेशमा बसोबास गरिरहेका पर्वतबासीलाई एउटै मालामा बाँध्ने उद्देश्यसहित पर्वत समाजद्वारा आयोजना गरिएको बृहत रक्तदान तथा भेटघाट कार्यक्रम शनिबार सम्पन्न भएको छ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्त सञ्चार सेवामा सम्पन्न कार्यक्रममा पर्वत जिल्लाका नागरिकहरू, काठमाडौंमा बसोबास गर्ने पर्वतबासीहरू तथा विभिन्न संघ–संस्थामा आवद्ध रक्तदाताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा समाजका अध्यक्ष गणेश शर्माले रक्तदानजस्तो पवित्र कार्यमा सहभागी सबैप्रति आभार प्रकट गर्दै यस्ता सामाजिक तथा मानविय कार्यलाई निरन्तरता दिँदै लैजान समाज प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रमका अवसरमा सहभागी पर्वतबासीहरूबीच परिचय आदानप्रदान हुनुका साथै संस्थाको आजीवन र साधारण सदस्यता पनि प्रदान गरिएको थियो। सहभागीहरुले समाजको पवित्र अभियान सफल पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
पर्वतबासीबीच एकता, सहयोग र चिन्तन विकास गर्ने लक्ष्यसहित स्थापित समाजको अभियानप्रति सहभागीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
समाजका महासचिव टिकाराम कार्कीले संस्थाले सदस्यता विस्तारलाई थप तिव्रता दिई आगामी दिनमा समाजसेवा तथा पर्वतबासीबीच नियमित भेटघाट तथा अन्य कार्यक्रमहरू आयोजना गर्ने जानकारी दिनुभयो। उहाँले पर्वत जिल्लासँग सम्बद्ध सबैलाई समाजको सदस्यता लिएर अभियानमा जोडिन आग्रह गर्नुभयो।

