चीनको बीआरआईलाई काउण्टर गर्न अमेरिकाले अघि बढायो ‘ब्लु डट नेटवर्क’

 हिन्द प्रशान्त क्षेत्रमा चीनले रणनितिक महत्वका साथ अगाडी बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई) परियोजनालाई काउण्टर गर्न अमेरिकाले यो क्षेत्रमा ‘ब्लु डट नेटवर्क’ परियोजना निर्माण गर्ने भएको छ ।

भियतनाममा सम्पन्न हिन्द–प्रशान्त क्षेत्रको तेस्रो विजनेस फोरमाको बैठकमा यो परियोजना सम्बन्धि छलफल भएको हो । अब अमेरिकाले यसको विस्तृत मोडालिटी तयार पार्नेछ र अन्य मुलुकहरुसँग थप छलफल गर्नेछ ।

अमेरिकाले सो परियोजना जापान र अष्ट्रेलियासँग मिलेर अगाडि बढाउने सहमति भइसकेको छ । सो नेटवर्कमा सहभागी हुनको लागि भारत पनि सकारात्मक भइसके पनि औपचारिक पार्टनर भने भइसकेको छैन । विशेषतः बिआरआईका परियोजनाहरु असमाबेशी, अपारदर्शी र वातावरणीय हिसाबले प्रतिकूल भएको भन्दै सन् २०१९ मा अमेरिकाले सो प्रस्ताव गरेको थियो ।

सो नेटवर्कको उद्देश्य सरकार, निजी क्षेत्र र नागरिक समाजलाई एकै ठाउँमा ल्याई अन्तर्राष्ट्रिय मापदण्ड र कानुनमा आधारित पूर्वाधारको निर्माण गर्नु हो ।

भियतनाममा बसेको सो बैठकले गरेको निर्णयमा यस सम्वन्धी परियोजनाको विकास र लगानीका सम्बन्धमा अमेरिकाले काम गरिरुहेको उल्लेख गरेको छ ।

निर्णयमा भनिएको छ, ‘खुला, समावेशी, पारदर्शी, आर्थिक रुपमा व्यवहारिक र वातावरणीय र सामाजिक रुपले दीर्घकालीन हुने पूर्वाधार निर्माणका लागि अमेरिकाले पहल गरिरहेको छ । सो बैठकलाई अमेरिकी विदेशमन्त्री माइक पम्पियोले सम्बोधन गरेका थिए ।’

वार्षिक रुपमा हुने सो फोरमको बैठकमा अमेरिकी उच्च अधिकारीहरुले इन्डोप्यासेफिक क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

बैठकमा ऊर्जा, पूर्वाधार, डिजिटल अर्थतन्त्र, मार्केट अर्थतन्त्र, अमेरिकाको इन्डोप्यासेफिक साझेदारी र वाणिज्य सम्बन्धी अवसर लगायतका विषयमा गहन छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

सो कार्यक्रममा अमेरिकी अधिकारीहरुले भारतलगायत देशमा अमेरिकाको प्रत्यक्ष लगानीमा ठूलो वृद्धि भएको जानकारी दिएका थिए । अमेरिकाले यस क्षेत्रका विभिन्न क्षेत्रिय संगठनसँगै देशहरुसँगका लगानी, पूर्वाधार लगायतका क्षेत्रमा साझेदारी अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज