भारतिय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभणेको आसन्न नेपाल भ्रमण र नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिने कार्यक्रमको खारेजी गर्न २१ साना दलले माग गरेका छन् । भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप बढ्ने उनीहरुको ठहर छ।
२१ वटा साना वाम दलका तर्फबाट आइतबार अपिल जारी गर्दै नेकपा क्रान्तिकारीका नेता सिपी गजुरेलले नरवणेको भ्रमण खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।
‘सरकारले यो भ्रमण रद्द गरेन भने यसको विरोधमा हामीले शान्तिपूर्ण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेका छौँ, हामी सम्पूर्ण देशभक्तहरुलाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गर्दछौँ,’ नेता गजुरेलले उल्लेख गरेका छन्।
नरवाणे कात्तिक १९ गते नेपाल भ्रमण आउने र कात्तिक २० गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने तय भइसकेको छ।
नेपाल-भारत सीमा विवाद चर्किरहेकै बेला भारतकै सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिएर सम्मान दिन खोजेकोमा २१ वामले विरोध गरेका हुन्।