सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको र यसले पार्टीलाई फुटको दिशातर्फ अगाडी बढाएकोमा चिन्ता व्यक्त गर्दै पार्टी एकताको लगि सक्रिय पहल गर्न आम पार्टी नेता तथा कार्यकर्तामा अपिल गरेका छन् ।
नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौ ।’
पार्टी बिभाजनको संघारमा पुगेको भन्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको पक्षमा दृढतापूर्वक उभिन पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । पार्टी फुट कदापि उचित र सही हुन नसक्ने उनको भनाई छ । उनले फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुने बताए ।
व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान नदिने बताउँदै उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता ‘महान क्रान्तिकारी उद्देश्य’लाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको स्मरण गरे । यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन नसक्ने उल्लेख गरेका छन् । उनले पार्टीको बैठक बस्न र सबै पक्षहरुका बारेमा खुला छलफल गर्न आह्वानसमेत गरेका छन् ।
पछिल्लो समय पार्टी तथा सरकार सन्चालनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच गम्भीर मतभेद सार्वजनिक भएका छन् । प्रचण्डसँगको एक भेटमा अर्का अध्यक्ष ओलीले पार्टी फुटाउन प्रस्ताव राखेको खबरले पार्टी एकतामा तरंग ल्याइदिएको छ ।