ह्राै चरणाकाे इन्डियन प्रिमियर लिग (आइपिएल) सञ्चालन भई रहेको छ । पछिल्ला तीन सालमा भने आइपिएलको चर्चा नेपालमा क्रिकेट प्रेमीमाझ मात्रै सीमित भएन। आम नेपालीको चासो यस लिगमा भयो। कारण हो आइपिएल फ्रेन्चाइजमध्येको एक टोली तल्कालीन दिल्ली डेयरडेभिल्स्ले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेलाई भित्र्यायो।
उदयीमान लेग स्पीनर सन्दीपलाई दिल्लीले लिएपनि दिल्लीले मैदानमा उतारेन। आइपिएलको मैदानमा सन्दीपले बलिङ गरेको हेर्ने आशामा रहेका नेपाली समर्थकहरु निराश बने। लिग चरणका १४ खेलमा ११ खेल खेल्दासम्म दिल्ली प्लेअफको दौडबाट बाहिरी सकेको थियो। अन्तिम तीन खेलमा सन्दीपले खेल्ने मौका पाए।
किन खेल्न पाएनन् यसपाली ?
२० लाख भारतीय रुपैयाँमा ३ वर्षका लागि दिल्लीमा आवद्ध भएका सन्दीपको यो अन्तिम सिजन हो। यस सिजनमा पनि सन्दीपले दिल्लीबाट कही खेलमा भएपनि मौका पाउलान् भन्ने अनुमान नेपाली क्रिकेट प्रेमीको थियो।
तर लिग चरणका १३ खेल खेलि सक्दासम्म बेञ्चमै सीमित छन्। अब लिग चरणको बाँकी एक खेलमा पनि सन्दीप खेल्न पाउने सम्भावना ज्यादै न्यून छ। १३ खेल खेल्दा ७ मा जित र ६ मा हार व्यहोरेको दिल्ली १४ अंकका साथ तेस्रो स्थानमा छ। आज हुने बैंग्लोर विरुद्धको खेल जितेमा दिल्ली प्ले अफमा पुग्नेछ । हारेमा अरु टोलीको अंकमा निर्भर हुनुपर्ने देखिन्छ।
क्यारेबिन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेर आइपिएल खेल्न त्यतैबाट युएई पुगेका सन्दीपले यस सिजनमा त्यहाँकै पदर्शनका आधारमा पनि मौका पाउँछन् की भन्ने अपेक्षा नेपाली समर्थकको थियो। अर्कोतर्फ दिल्लीले यस सिजन मात्रै रविचन्द्र आश्विनजस्ता स्पीनरलाई टोलीमा भित्र्याएका कारण अक्सर पटेल र अमित मिश्रा समेत दिल्लीमै रहँदा सन्दीप प्लेइङ ११ मा पर्न मुस्किल रहेको कोणबाट पनि चर्चा भएको थियो।
सन्दीपले यस पटकको खेलमा मौका नपाउनुका केही खास कारण बारे चर्चा गरौँ।
प्लेइङ ११ मा परेका अन्य विदेशी खेलाडीको प्रदर्शन
आइपिएलको नियम अनुसार एउटा खेलमा ४ जना मात्र विदेशी खेलाडी खेलाउन पाइन्छ। दिल्लीले सुरुदेखि नै ४ विदेशी खेलाडीलाई नै विदेशी खेलाडीलाई मात्रै टोलीमा समेटिरहेको छ। दक्षिण अफ्रिकाका फास्ट बलर कागिसो राबडा, दक्षिण अफ्रिकाकै मध्यम फास्ट बलर एनरिच नोत्जे, अस्ट्रेलियाका मार्कस स्टोनिस र वेस्ट इन्डिजका सिम्रोन हेटमायर दिल्लीबाट खेलिरहेका छन्। नियमित विकेट किपर ऋषभ पन्त घाइते हुँदा हेमायरको सट्टामा विकेट किपिङमा लागि अस्ट्रेलियका एलेक्स केरीले केही खेलमा मौका पाएका थिए।
रबडाले २३ र नोत्जेले १६ विकेट लिएका छन्। अलराउन्डर मार्कस स्टोनिसले २ अर्धशतक सहित २३९ रन बनाउदा ८ विकेट लिएका छन्। केही कमजोर प्रदर्शन गरेका हेटमायरले १३८ बनाएका छन्। दिल्लीले हेटमायरलाई उत्कृष्ट फिल्डिङ तथा पावर हिटका कारण खेलाइ रहेको छ।
विशेष गरी दुई विदेशी बलरले निकै राम्रो प्रदर्शन गरिरहेकाले तिनको विकल्प सन्दीपलाई समावेश गर्न सम्भव नभएको हो।
स्पीनर भारतीय, फास्ट बलर विदेशी
दिल्लीमा विदेशी खेलाडीमा स्पीनर सन्दीप मात्रै छन्। यस टोलीमा रविचन्द्र आश्विन अक्षर पटेल र अमित मिश्रा तीन जनामा राम्रा स्पीनर छन् र तीन जना भारतीय हुन्। तीब्र गतिका दुई विदेशी बलर रबाडा र नोत्जेले राम्रो प्रदर्शन गरिरहका छन्। उनीहरुको दाजोँमा दिल्लीमा तीब्र गतिका भारतीय बलर छैनन्। गत सिजनमा वेस्ट इन्डिजका किमो पाउलको विकल्पमा सन्दीपले अवसर पाउने गर्थे।
सन्दीपलाई खेलाउँदा दुई बलर रबडा र नोत्जेले मध्ये एकलाई निकाल्नु पर्ने भएकाले पनि सन्दीप टोलीमा पर्न नसकेका हुन्। टोलीका लागि महत्वपूर्ण योगदान गरिरहेका बलरलाई निकालेर सन्दीपलाई खेलाउने रिक्स लिन दिल्ली तयार हुने कुरै भएन। यदी दिल्लीमा राम्रा भारतीय फास्ट बलर भएको भए स्पिनरका रुपमा सन्दीपले मौका पाउने सम्भावना धेरै हुन्थ्यो।
सन्दीपको ब्याटिङ क्षमता कमजोर
लेग स्पीनमा राम्रो दखल भएका सन्दीपमा ब्याटिङ क्षमता खासै छैन। सन्दीपको तुलनामा मिश्रालाई छाडेर दिल्लीका दुई स्पीनर पटेल र आश्विन परेका बेलामा राम्रो ब्याटिङ पनि गर्न सक्छन्। पटेल त झन दिल्लीका महत्वपूर्ण अलराउण्डर नै हुन्। टोली संकटमा परेका बेला ठूला सट खेली स्कोर उकास्न पटेल माहिर छन्। यसै सिजनमा पनि चेन्नईसँगको खेलमा अन्तिम ५ बलमा १५ रन चाहिएको अवस्थामा पटेलले लगातार छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्याएका थिए। अस्ट्रेलियाका अलराउण्डर मार्कस स्टोनिस पनि बलिङ ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गर्न सक्ने खेलाडी हुन्। दिल्लीका यस सिजनका केही खेलमा निर्णयक भूमिका खेलेको उनलाई हटाएर सन्दीपलाई समावेश गर्ने दिल्ली तयार हुने कुरै भएन। ब्याटिङमा पनि राम्रो दखल भएको भए सन्दीपले यसपाली खेल्न पाउने सम्भावना हुन्थ्यो।