पुनर्गठित मन्त्रिमण्डल प्रति प्रचण्डकाे असन्तुष्टी

हाम्राेप्रयास । बुधबार एघाराै पटक मन्त्रिमण्डल पुनर्गठन भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड) सँग अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान तीन घण्टा छलफल गरेपछि मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

उक्त मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलाैटी गरेकाे भन्दै प्रचण्ड असन्तुष्ट बनेका छन् । स्थायी कमिटी र सचिवालयको स्पिरिटअनुसार पुनर्गठन नभएको भन्दै प्रचण्ड असन्तुष्ट बनेको प्रचण्डनिकट स्रोतले बताएको छ ।

‘प्रधानमन्त्रीले जसरी पुनर्गठन गर्नुभएको छ, त्यो स्थायी कमिटी र सचिवालय बैठकको निर्णयअनुसार भएन,’ प्रचण्डनिकट स्रोतले भन्यो । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बुधवार बिहान करीब ३ घण्टा भेटवार्ता भएको थियो । भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनको बारेमा छलफल नभएको स्रोतले दाबी गर्यो ।

गत भदौ २६ गते सम्पन्न नेकपाको पाचौं स्थायी कमिटी बैठकले सरकारका कामकारवाही प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको थियो । त्यसयता अध्यक्षद्वयबीच मन्त्रिमण्डल पुनर्गठनकै विषयलाई लिएर धेरैपटक छलफल भयो तर सहमति जुट्न सकेको थिएन ।प्रचण्ड व्यापक हेरफेर गर्ने मानसिकतामा थिए भने ओली खालि रहेका केही मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने पक्षमा उभिएका थिए ।

आज गरिएको मन्त्रीमण्डल पुनर्गठनका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेलको मन्त्रालय खालि भएको छ । उनलाई रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय आफैसमक्ष राखेका छन् ।

यसक्रममा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन् । यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ । महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज