राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई पार्टी विभाजन हुन नदिन भुमिका खेलिदिन आग्रह गर्नु भएको छ । मंगलबार अपरान्ह भएको भेटघाटमा राष्ट्रपती भण्डारीले आग्रह गर्नुभएको हो । मंगलबार अपरान्ह शितलनिवासबाट बोलाइएपछि गौतम राष्ट्पति भेट्न शितलनिवास पुगेका थिए । शितलनिवासमा गौतम र राष्ट्रपति भण्डारीबीच आधा घण्टा कुराकानी भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले पुष्टि गरे ।
गौतम निकट स्रोतकाअनुसार भेटमा राष्ट्रपति भण्डारीले नेकपामा आएको विवादका बारेमा चासो राख्नु भएकाे थियाे । त्यसक्रममा वहाँले गौतमलाई पार्टी एकता भंग हुन लागेको भन्दै समन्वयकारी भूमिका खेल्न र पार्टी एकता जोगाउन आग्रह गर्नु भएकाे थियाे । ‘तपाईले विगतमा पनि पार्टी अप्ठ्यारोमा परेका बेला महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । अहिले पनि अवस्था जटिल छ’, राष्ट्पति भण्डारीले गौतमसँग गरेको सम्वादलाई उदृत गर्दै स्रोतले भन्यो, ‘यो पटक पनि तपार्इको भूमिका आवश्यक छ । त्यसका लागि तपाईले भूमिका निर्वाह गर्नुपर्यो ।’
जवाफमा गौतमले आफु जहिल्यै पार्टी एकताको पक्षमा रहेको भन्दै आफुले निर्वाह गर्ने भूमिका गर्न तयार रहेको बताएका थिए । ‘म सँधै एकताकै पक्षमा हो । अहिले पनि एकता टुट्नु हुँदैन भन्दै आएको छु’ गौतमले राष्ट्पतिलाई आश्वस्त पारेका थिए ।